मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहाज दुर्घटनामा ज्यान गुमाएको परिवारलाई सहयोग

जहाज दुर्घटनामा ज्यान गुमाएको परिवारलाई सहयोग


मुस्ताङ, १९ फागुन । तेइसजनाको ज्यान जाने गरी म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएका जिल्ला प्राविधिक कार्यालय मुस्ताङका कर्मचारी बालकृष्ण निउरेका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 
 
प्राविधिक कार्यालय र जिल्ला विकास समितिका सम्पूर्ण कर्मचारीले सङ्कलन गरेको सहयोग रकम रु ५५ हजार ५५५ जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीमार्फत स्वर्गीय निउरेका परिवारलाई उपलब्ध गराइएको हो । 
 
इञ्जिनियर तिवारीले बागलुङ पाला–८ मा पर्ने स्वर्गीय निउरेको घरमै पुगी उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । पीडाको समयमा सहयोग रकम पर्याप्त नभएपनि परिवारजनलाई सहानुभूति मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको इञ्जिनियर तिवारीले जानकारी दिनुभयो । 
 
अविवाहित निउरेका बुबा, आमा र पाँच दिदीबहिनी छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयमा दरबन्दी भएपनि निउरे प्राविधिक कार्यालयमा सहलेखापालका रूपमा काम गर्दै आउनु भएको थियो । फागुन १२ गते पोखरादेखि जोमसोम जाने क्रममा तारा एयरको ९ एनएएचएच कलसाइन भएको जहाज दुर्घटना हुँदा निउरेसहित २३ जनाको घटनास्थलमै ज्यान गएको थियो । 
 
निउरे सरकारी सेवामा प्रवेश गरेको तीन वर्ष मात्रै भएको थियो । “यो सहयोगले केही मात्रामा भएपनि परिवारलाई समवेदना पुगेको छ, हामी सबैले जे भए पनि सहनुपर्छ भनेर परिवारलाई सम्झाएका छौँ”– इञ्जिनियर तिवारीले भन्नुभयो । रासस