काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसको महाधिवेशनका प्रतिनिधि तथा पर्यवेक्षकका लागि आवासको व्यवस्था गर्न होटल बुकिङ सुरु भएको छ ।
महाधिवेशनका लागि भोजन तथा आवासको व्यवस्था गर्न गठित भोजन तथा आवास व्यवस्थापन समितिले होटल बुकिङ सुरु गरेको हो ।
काँग्रेसको अर्थसमिति र भोजन समितिका सदस्यहरुको संयुक्त टोलीले आवासका लागि होटलको बुकिङ सुरु गरेको र भोजनका लागि भने टेन्डर आह्वान गरिएकाले आइतबारसम्ममा ठेकेदारको टुङ्गो लाग्ने समितिले जनाएको छ ।
समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले अर्थ समितिसँग बिहीबार छलफल गरेर होटल बुकिङका लागि सुरुमा दिनुपर्ने केही रकम माग गरिएको बताउनुभयो ।
अघिल्लो महाधिवेशनमा आवास तथा भोजनका लागि रु ६६ लाख खर्च भएकोमा यसपटक त्योभन्दा केही बढी खर्च लाग्ने समितिका संयोजक केसीले अनुमान गर्नुभयो ।
यही फागुन २० देखि २३ गतेसम्म हुने महाधिवेशनका लागि झन्डै तीन हजार ३०० प्रतिनिधिबाहेक पाहुना, पर्यवेक्षक, सहयोगीलगायत गरेर झन्डै चार हजारजनालाई भोजन तथा आवासका लागि समितिले तयारी गरिरहेको छ । उनीहरुलाई समितिले काठमाडौँको सुन्धारा, बागबजार, ठमेल, गौशालालगायतका क्षेत्रका होटलमा आवासको व्यवस्था मिलाउन लागेको छ ।
काँग्रेसको महाधिवेशनका लागि केसीको संयोजकत्वमा १२ जना केन्द्रीय नेताहरु रहेको भोजन–आवास व्यवस्थापन समिति गठन गरिएको छ । भोजन तथा आवास समितिबाहेक काँग्रेसले महाधिवेशनका लागि भन्दै अन्य १२ वटा समिति पनि बनाएको छ । ती सबै समितिहरुले आ–आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको बताएका छन् । रासस
प्रतिक्रिया