मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कार्यकर्ताको भावनाको कदरका लागि सभापतिमा उम्मेदवारी : नेता पौडेल

कार्यकर्ताको भावनाको कदरका लागि सभापतिमा उम्मेदवारी : नेता पौडेल


काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले  कार्यकर्ताको भावनाको कदर गर्दै आफूले पार्टीको सभापतिका लागि उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।
 
यहाँ आज विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै उहाँले पार्टीमा आफू विजयी भए सबै कार्यकर्ताको भावनालाई मूर्त रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
उहाँले भन्नुभयो- “म काम गर्ने व्यक्ति हुँ, काम गर्न पद चाहिने भएकाले मात्र मैले पदका लागि सभापतिमा उम्मेदवारी दिएको छु,  तपार्इंहरु ढुक्क हुनुहोस्, म सबैको भावनालाई पुूरा गर्नेछु ।”
 
नेता पौडेलले अहिलेको राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएकाले उम्मेदवारी दिन आवश्यक रहेको प्रस्ट पार्नुभयो । उहाँले १३औँ महाधिवेशनले पार्टीलाई नयाँ जीवन्तता दिने खालको नेतृत्व चयन गर्न सक्नुपर्ने भएकाले सबै प्रतिनिधिलाई कसैको दबाबमा नपरीकन जिल्लाबाट आउँदा जे निर्णय लिएर आउनुभएको छ त्यही निर्णयमा अडिग रहन  आग्रह गर्नुभयो ।
 
अहिले काँग्रेसका सामु आफ्नो पार्टीको मात्र अभिभारा नभई देशको विद्यमान परिस्थितिलाई सम्हाल्ने अभिभारा पनि थपिएकाले काँग्रेसको अधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताउनुभयो । रासस