मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसलाई नाता र नेताबाट नीति प्रधान बनाउन जोड

काँग्रेसलाई नाता र नेताबाट नीति प्रधान बनाउन जोड


काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसका नेता एवम् कार्यकर्ताले १३औँ महाधिवेशनलाई नेता र नाता प्रधानबाट नीति प्रधानमा पु¥याइनुपर्नेमा जोड दिनुभएको छ ।
 
नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको निर्वाचित काठमाडौँ जिल्ला समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यको स्वागत एवम् बधाई कार्यक्रममा उहाँहरुले यस्तो धारणा राख्नु भएको हो ।
 
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद अम्बिका बस्नेतले पार्टीलाई नेता र नाता प्रधानताबाट नीति प्रधानमा रुपान्तरणका लागि वडा एवम् गाउँ गाउँमा प्रशिक्षण कार्यक्रम राखिनुपर्ने बताउनुभयो ।
 
“नेपालका युवा अरबलगायत मुलुकमा गई ती देशको विकासमा योगदान गरिरहेका छन्, त्यो ऊर्जाशील जनशक्तिलाई नेपालमै राख्ने सोच र दृष्टिकोण बनाउन सके नेपाल पनि चाँडै सम्पन्न राष्ट्र बन्न सक्छ”–उहाँले भन्नुभयो ।
 
नवनिर्वाचित काठमाडौँ सचिव राजकुमार नकर्मीले १३औँ महाधिवेशनबाट काँग्रेसलाई नीति एवम् दृष्टिकोणमुखी बनाउन युवाहरुका तर्फबाट अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । “स्थापनादेखि विसं २०१७ सम्म काँग्रेस नीतिमुखी थियो, २०१७ सालपछि नेतामुखी भयो, विसं २०४८ पछि त नातामुखी भएर पार्टीको यो हालत भयो, अब यो महाधिवेशनबाट पुनः नीतिमुखी बनाइनुपर्छ”–उहाँले भन्नुभयो ।
 
काँग्रेस गोकर्णेश्वर नगर सभापति श्रीकृष्ण ज्योतिले दललाई नीतिमुखी दल बनाउन जनता जागरण कार्यक्रम सुरु गरिएको घोषणा गर्नुभयो । कार्यक्रमअन्तर्गत नगरभित्रका वडाहरुमा जागरण गरी काँग्रेसको नीति एवम् दृष्टिकोण जनतामाझ राख्न लागिएको उहाँले बताउनुभयो ।
 
कार्यक्रममा काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, काँग्रेस नेता लालबहादुर लामा र राजकुमार लामालगायतले काँग्रेसलाई नीतिमुखी राजनीतिक दलका रुपमा परिवर्तनका लागि युवा दबाबको आवश्यकतामा जोड दिनुभयो । रासस