मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल-भारत मित्रता नयाँ आवश्यकताअनुसार स्वीकार गरिएको छ : प्रधानमन्त्री

नेपाल-भारत मित्रता नयाँ आवश्यकताअनुसार स्वीकार गरिएको छ : प्रधानमन्त्री


बुटवल, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानमा नागरिकता, पेसा व्यवसायलगायत कुनै पनि क्षेत्रमा असमान र विभेद नरहेको बताउनुभएको छ । 
 
भारत भ्रमणपछि आफ्नो पहिलो सार्वजनिक मञ्चको सम्बोधनका क्रममा एमाले लुम्बिनी अञ्चल समन्वय कमिटीले आज भैरहवामा आयोजना गरेको ‘जनताको संविधान जनताका माझमा’ जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई अधिकारविहीन बनाएर राख्न खोज्नेलाई संविधान बनेकामा छटपटी हुनु स्वाभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो“नेपालका विरुद्ध र नेपाललाई अहित हुने कुनै पनि खालका मागलाई सरकारले सम्बोधन गर्न सक्दैन ।”
 
आफ्नो भ्रमणलाई ठूलो महत्व दिएर भारतले राम्रो व्यवहार र आतिथ्यता प्रदान गरेको बताउँदै उहाँले भारत सरकारबाट आफूलाई दिइएको आतिथ्यता, सम्मान नेपाल र सबै नेपाली जनताका लागि हो भन्नुभयो । नेपाल र भारतबीचको मित्रता दुवै मुलुकले नयाँ आवश्यकतानुसार स्वीकार गरेको उहाँले बताउनुभयो । नाकाबन्दी नखुलेसम्म भारत नजाने भनेर आफूले लिएको अठोट व्यवहारमा कार्यान्वयन गरेको बताउँदै प्रधानमन्त्री ओलीले अब दुई देशको सम्बन्ध सुध्रिएको छ र मुलुक अब विकासको नयाँ गतिमा अगाडि बढ्छ भन्नुभयो । 
 
केही वर्ष सङ्कल्प गर्ने हो भने देशलाई विकसित मुलुकको दाँजोमा पु¥याउन सकिने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले अब आर्थिक समृद्धिको मार्गमा लाग्न कृषिमा व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्ने र बन्दहडतालको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 
 
प्रधानमन्त्री ओलीले काँग्रेसलाई समेत आगामी महाधिवेशनपछि यही सरकारमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले मधेसकेन्द्रित दललाई पनि सरकारमा आउन आग्रह गर्दै आफँैले आफँैलाई दुःख दिने बाटामा नहिँड्न सुझाव दिनुभयो ।
 
आफूले विदेशी राजदूत र कूटनीतिज्ञलाई समेत पटक पटक नेपालको संविधान अध्ययन गर्न दिएको तर उनीहरूले संविधानमा असमानता र विभेद कतै नरहेको प्रतिक्रिया दिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयोे– “संविधानमा लेख्नेबित्तिकै गरिबी र असमानता हट्दैन, यसका लागि समय लाग्छ ।”
 
उहाँले एक वर्षभित्र आधारभूत रुपमा विद्युत्भार कटौती अन्त्य गर्ने र दुई वर्षभित्र सबै क्षेत्रलाई पुग्ने विद्युत् उत्पादन गर्ने आफ्नो योजना सफल बनाएरै छाड्ने बताउनुभयो । 
 
सभालाई सम्बोधन गर्दै एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको नेतृत्वदायी भूमिकाका कारण नै संविधान बन्न सफल भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा पनि एमालेले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।
 
अर्थमन्त्री एवम् पार्टीका उपमहासचिव विष्णुप्रसाद पौडेलले मुलुकको विकासका लागि अब राजनीतिक लडाइँमा होइन आर्थिक कार्यसूची लिएर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 
 
सभालाई (एमाले)का उपमहासचिव घनश्याम भुसाल, सचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्य एवम् युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य राधा ज्ञवाली, सांसद वैजनाथ चौधरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, रुपन्देही जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो । रासस