मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डलरको भाउ बढेसँगै सुनको मूल्य आकासियो

डलरको भाउ बढेसँगै सुनको मूल्य आकासियो


चितवन । शुक्रबार नारायणगढका सुनचाँदी पसलहरुमा फाट्टफुट्ट मात्र ग्राहकहरुको चहलपहल थियो । 
 
सुनको भाउ एक्कासी बढेपछि सुन पसलहरुमा ग्राहकहरु चाप घटेको हो । शुक्रबार नारायणगढमा छापावाला सुन प्रतितोला ५७ हजार र तेजाबी ५६ हजार  ७५० सय रूपैयाँमा बिक्री भएको छ ।
 
केही दिनदेखि निरन्तर सुन तोलाको एक हजार रूपैयाँले बढेको हो । विवाहको सिजन भए पनि यतिबेला मानिसहरु चाहिने मात्र सुन किन्ने गरेका छन् । 
 
छोरीको विवाहको लागि सुन किन्न नारायणगढसम्म आएका रामपुरका सूर्य लम्सालले सुनको भाउ बढेकोले किन्न खोजेको भन्दा केही घटाएर सुन किनेको बताए । ‘सुनको भाउ एकाएक बढेपछि सुन किनिनसक्नु छ’ उनले भने, ‘२ तोला जति किन्छु भनेर आएको थिए डेढ तोलाको मात्र अर्डर गरेर फर्किए ।’
 
भरतपुरकी लक्ष्मी कँडेलले सुन महंगो भए पनि विहेको लागि किन्न परेर किनेको बताइन् । उनी भन्छिन् ‘छोराको विहे भएर सुन किनेको हो । नत्र सुनको भाउ बढेको बेलामा कसले किन्छ ?’ सुन बिक्री हुने सिजन भए पनि योबेला सुनको त्यति राम्रो व्यापार हुन सकेको छैन । 
 
भूकम्प, नाकाबन्दीले ध्वस्त भएको सुन बजारमा सुनको भाउ बढ्दा व्यापार भने न्यून रहेको शुभकामना ज्वेलर्स नारायणगढ मिलनरोडका सञ्चालक भुवन प्यासीले बताए । यतिबेला विवाहको सिजन भए पनि मानिसहरुले आफूलाई आवश्यक सुन मात्र खरिद गरेको उनको भनाइ छ । चेलिबेटीहरुको नयाँनयाँ डिजाइनका गहनामा रूचि घटेको उनले बताए । 
 
अन्तराष्र्टि«य बजारमा नै सुनको लगानी सुरक्षित भएकोले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यावसायी संघ चितवनका अध्यक्ष विपिन रामुदामुले बताए । केही समययता डलरको भाउ आकासिएकाले पनि सुनको भाउ बढेको रामुदामुको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा नै सुनको लगानी सुरक्षित भएको छ । यसबाट सेयर मार्केटमा भन्दा सुनमा लगानी गर्नेको संख्या बढेको छ ।’
 
उनले भने, ‘यसले गर्दा सुनको भाउ बढेको हो । अर्को कारण डलरको भाउ आकासिनुले पनि सुनको भाउ बढ्न मद्धत गरेको छ ।’ निरन्तर बढेर शुक्रबार डलरको मूल्य १०९. ४० नेपाली रूपैयाँ पुगेको थियो । 
 
सुनको भाउ बढेर अथवा घटेर व्यवसायीलाई नाफानोक्सान नहुने बताउँदै अध्यक्ष रामुदामुले भाउ एकैनासमा रहे कारोबार बढ्ने बताए । उनी भन्छन्, ‘सुनको भाउ बढेर व्यवसायीलाई केही नाफा हुदैन । भाउ एकनास भएमा बल्ल व्यापार बढ्छ । भाउ ५० हजारको हाराहारीमा रहँदा व्यापार राम्रो हुन्छ ।’ भाउ बढ्दा ग्राहकहरुले सुन किन्न नसकेर व्यापार घट्ने उनको भनाइ छ ।