मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एयर काष्ठमण्डपको विमान दुर्घटना, दुईको मृत्यु, नौ घाइते

एयर काष्ठमण्डपको विमान दुर्घटना, दुईको मृत्यु, नौ घाइते


काठमाडौँ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा शुक्रबार दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ यात्रु गम्भीर घाइते भएका छन् 
 
दुर्घटनामा परी चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाकाको मृत्यु भएको हो । नेपालगन्जबाट जुम्लाको लागि शुक्रबार मध्यान्ह १२ बजेर १६ मिनेटमा उडेको नाइनएनएजेवी जहाज चिल्खयामा आकस्मिक अवतरण गराइएको थियो ।
 
सिंगल इन्जिनयुक्त सो जहाजमा चालकदलका २ सदस्यसहित ११ जना सवार थिए । घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्जस्थित मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ ।
 
जुम्लाका लागि उडेको विमान बीचबाटोमै पंखा रोकिएपछि  चालकले सम्भावित दुर्घटनाको जानकारी यात्रुलाई दिएका थिए । विमानमा यात्रा गरेका मेघराज गिरीले भने, ‘पाइलटले आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’
 
नेपालगन्जस्थित नागरिक उड्डयन कार्यालयका कर्मचारीका अनुसार घटनास्थलबाट यात्रुहरुले बारम्बार फोन गरेर उद्धारका लागि हेलिकप्टर पठाउन आग्रह गरेका थिए ।
 
स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिए अनुसार विमान गाउँदेखि करिब २०० मिटर टाढा गहुँ खेतमा खसेको थियो । ‘ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो’ , प्रत्यक्षदर्शी कटुवालले भने । 
 
खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए । ‘जहाजको ढोका आफै खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए,’ उनले भने । चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिए ।
 
‘एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन’ , अहेव रावलले भने । 
 
चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको उनले बताए । ‘बाहिर निकालेको एक घण्टासम्म दुख्यो दुख्यो भनेर कराइरहनु भएको थियो,’ अहेव रावलले भने, ‘हामीले सक्दो उपचार ग¥यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।’
 
विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।