मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए कालिकोट दुर्घटनामा , घाइतेको खेतमा उपचार हुँदै

पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए कालिकोट दुर्घटनामा , घाइतेको खेतमा उपचार हुँदै


काठमाडौँ, फागुन १४ गते। नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
 
दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको हो । उनीहरुको नाम खुल्न सकेको छैन । आज दिउँसो एक बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिनुभयो । सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । “ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो” – प्रत्यक्षदर्शी कटुवालले भन्नुभयो ।
 
खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए । “जहाजको ढोका आफै खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए,” उहाँले भन्नुभयो । चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिनुभयो । “एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन” – अहेव रावलले भन्नुभयो । चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको उहाँले बताउनुभयो ।
 
“बाहिर निकालेको एक घण्टासम्म दुख्यो दुख्यो भनेर कराइरहनु भएको थियो,” अहेव रावलले भन्नुभयो – “हामीले सक्दो उपचार ग¥यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।” विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।
 
अहिले चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरिरहनु भएको छ । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् । घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताउनुभयो । अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उहाँकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा 
नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ । “सबै जना होसमै छन्” – उपचारमा संलग्न अहेव रावलले भन्नुभयो । घटनास्थलमा तीन घण्टा टाढाको पादमघाट प्रहरी चौकीबाट चार जना प्रहरी आएका छन् ।
 
घाइते यात्रुका अनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए । “जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ” – घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भन्नुभयो । चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु प¥यो ।
 
एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर आज दिउँसो १२ः३० वजे जुम्लाका लागि उडेको थियो । रासस