मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको नीति तथा कार्यक्रममा नेताको सुझाव

काँग्रेसको नीति तथा कार्यक्रममा नेताको सुझाव


काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेसले १३ औँ महाधिवेशनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम संशोधन गर्न नेताले सुझाव दिएपछि सुझाव समावेश गरेर  प्रस्तुत गर्ने निर्णय गरेको छ ।
 
पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
  
  “आजको बैठकमा १५ जना केन्द्रीय सदस्यले महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा आफ्ना धारणा राख्नुभयो, बाँकी सदस्यले लिखितरुपमा सुझाव दिनुहुनेछ, सबै सुझाव आएपछि नीति तथा कार्यक्रममा सुझावसहित संशोधन गरेर महाधिवेशनमा पेस गरिनेछ”–उहाँले भन्नुभयो ।
  
बैठकमा महाधिवेशनको तयारी गर्न गठन गरिएका १३ समितिमध्ये पाँच समितिका संयोजकले तयारीका विषयमा विचार राखेको काँग्रेसले जनाएको छ । बैठकमा सदस्यले तयारीका लागि छिटो आर्थिकलगायत प्रबन्ध गर्न माग गर्नुभएको थियो ।
  
  विधान संशोधन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना राजधानी बाहिर रहनुभएकाले विधानका विषयमा छलफल भएन । नेता ढुङ्गाना आज बेलुकी काठमाडौँ आएपछि शुक्रबारदेखि विधान संशोधन समितिमा संशोधनको छलफल गरिने भएको छ । 
 
केन्द्रीय समितिको आगामी बैठक नतोकिए पनि आवश्यकताअनुसार जुनसुकै बेला बस्न सक्ने प्रवक्ता बडूले बताउनुभयो । बैठकमा प्रचार समिति संयोजक डा मीनेन्द्र रिजाल, आवास समिति संयोजक बलबहादुर केसी, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, सूर्यमान गुरुङ, कृष्णचन्द्र नेपाली, प्रदीप पौडेललगायत नेताले विचार राख्नुभएको थियो ।
 
  बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एवम् कोषाध्यक्ष चित्रलेखा यादवलगायत नेताको उपस्थिति थियो ।
   
प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधारका लागि सकारात्मक भए पनि अन्तिममा संयुक्त विज्ञप्ति जारी नहुँदा सरकारले स्पष्ट कुरा राख्न नसकेको निष्कर्ष काँग्रेस केन्द्रीय समिति बैठकले निकालेको प्रवक्ता बडूले भन्नुभयो । रासस