मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अंग्रेजीलाई सम्पर्क भाषाको रुपमा स्कुल तहबाटै विकसित गरिनु पर्ने – प्रकाश श्रेष्ठ

अंग्रेजीलाई सम्पर्क भाषाको रुपमा स्कुल तहबाटै विकसित गरिनु पर्ने – प्रकाश श्रेष्ठ


विश्व संचार र यातायातको विकाशले गर्दा निकै साँघुरो भएको छ अर्थात् प्राचीनकालमा परम्परागत यातायातको साधनहरुको प्रयोग गरेर महिनौ लागेर पुग्न सकिने ठाउँहरुमा अहिले यातायातको द्रुत साधनहरु जस्तै हवाई जहाज , हेलिकप्टर , पानी जहाज मार्फत केही घण्टा र केही दिनमा  सजिलै पुग्न सकिन्छ । हुलाकबाट महिनौ लागेर पुग्ने चिट्ठी -पत्रहरुबाट हुने खबरको आदान-प्रदान  अहिले तत्कालै फोन, ईन्टरनेट र सामाजिक संजाल मार्फत सम्पर्क गर्न सकिने भएको छ । यती सम्मकी फेस टु फेस भिडियो कल गरेर कुराकानी गर्न सकिने तथा देश-विदेशका समाचार, घटनाहरु रेडियो, टेलिभिजन , अखवार , अनलाईन मेडिया, समाजिक संजाल मार्फत मिनेट-मिनेटमा जानकारी लिन सकिने प्रविधीको विकास भईरहेको छ । यसरी संसारको एक कुनामा बसेको व्यक्तीले अर्को कुनामा बस्ने व्यक्तीलाई सजिलै खबरको आदान -प्रदान गर्न सक्ने र सुचना-संचारबाट आफुलाई अद्यावधिक गर्न सक्ने अवस्था उपलब्ध छ । 
 
 संचार र यातायातको आधुनिक विकास सँगै विभिन्न देशमा मानिसको आवात-जवात निकै बढिरहेको छ । विश्वभरिका देशहरु कुनै-कुनै तवरबाट एक आपसमा सम्बन्ध स्थापित गरिरहेका छन् । यस्तो अवस्थामा आपसमा कुराकानी र सुचनाको आदान-प्रदानको लागी भने दुवै देशका नागरिकले बुझ्ने भाषा प्रयोग हुनु पर्ने हुन्छ उदाहरणको लागी कुनै नेपाली जापान गयो भने उसलाई जापानी भाषाको ज्ञान हुनु पर्यो वा स्पेन गएमा स्पानिस र बेलायत गए अंग्रेजी । भन्नुको मतलब जुन देशमा जो घुम्न वा कामको सन्दर्भमा जान्छ त्यही देशमा बोलिने भाषा जान्नु आवस्यक हुन्छ । यस्तो समस्या समाधान गर्न र विश्वकै प्रायः सबै मुलुकमा प्रयोगमा आउने सम्पर्क भाषा वा माध्यम भाषाको रुपमा अंग्रेजीलाई लिने गरिन्छ तसर्थ अंग्रेजी भाषाको राम्रो ज्ञान हुनसके , अंग्रेजीमा बोलचाल गर्न सक्ने भएमा संसारको अधिकांश मुलुकमा जाँदा भाषागत समस्या आउँदैन । विश्वभरि नै अंग्रेजी भाषालाई महत्वपूर्ण अन्तरराष्ट्रिय भाषाको रुपमा हेरिने हुँदा यसको जानकारी हुनु अति जरुरी छ । 
 
 अंग्रेजी भाषा मुख्यरुपमा बेलायत, अमेरिका , क्यानडा , अष्ट्रेलिया , आयरल्याण्ड , न्युजिल्याण्ड, लगायत 67 देशहरुमा मुख्य बोलीचाली एवं अफिसियल भाषाको रुपमा र करिव 27 देशहरुमा सहायक(Secondary) अफिसियल भाषाको रुपमा प्रयोग भएको साथै विश्वभरिका  एक विलियन (One billion) भन्दा बढी मानिसहरुले आपसमा कुराकानी वा संचार सम्बन्ध राख्दा अंग्रेजी भाषालाई प्रयोगमा ल्याएको अनुमान गरिएको छ । विभिन्न देशहरु विच अन्तराष्ट्रियस्तरका सम्बन्धहरु स्थापित गर्ने एवं विचारको आदान-प्रदान गर्ने सन्दर्भमा , आयात-निर्यात व्यापार लगायत पर्यटकिय भ्रमण , अन्तरराष्ट्रियस्तरका सभा, सेमिनर, सम्मेलन आदीमा समेत अंग्रेजीलाई नै सम्पर्क भाषाको रुपमा प्रयोग गरिन्छ । यसरी हेर्दा विस्वका अधिकांश देशमा यही भाषालाई माध्यम/सम्पर्क भाषारुपमा प्रयोग गरिएको पाईन्छ । 
 
 नेपालको सन्दर्भमा कुरा गर्दा अहिले पनि सार्वजनिक स्कुलमा खासै महत्वका साथ अंग्रेजी भाषालाई प्राथमिकता साथ पढाईदैन  तर निजी बोर्डिंग स्कुलहरुमा भने बोलचालको भाषा र पठन -पाठनको माध्यम नै अंग्रेजी हुने गर्दछ । विद्यालयस्तरको पढाई सकिसकेपछि कलेज तहको पढाई पढ्ने सन्दर्भमा भने हाल प्रायः अंग्रेजी माध्यमबाट पढाईने र कतिपय ग्रामिण स्थानमा ११-१२ कलासमा अझै पनि नेपाली माध्यममै पढाईने गरिन्छ । कतिपय कलेजमा भने एउटै भाषामा नेपाली र अंग्रेजी माध्यम पढाईने छुट्टा-छुट्टै कलासको व्यवस्था समेत गरेको पाईन्छ । सार्वजनिक स्कुलमा नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुलाई त्यती वेला समस्या हुन्छ जतिवेला साईन्सको तहको ११-१२ कलास र क्याम्पस तहको स्नातक तह एवं स्नातकोत्तर तहमा प्रायः अंग्रेजी माध्यमबाट नै पढाईने हुँदा उनीहरुलाई भाषागत समस्याले पढाएको बिषयबस्तु बुझ्न र आपसमा अन्तरक्रिया गर्न , नबुझेको कुरा सोध्न , सोधेको कुराको प्रतिउत्तर दिन समस्या पर्ने हुन्छ जसले गर्दा कुनै पनि बिषयलाई  नेपाली माध्यममा राम्रोसँग बुझेर -जानेर समेत भाषागत अवरोधको कारण अध्ययनमा पछि पर्न सक्ने अवस्था आउने देखिन्छ ।
 
यस्तै नेपाली माध्यममा क्याम्पस तहको अध्ययन गरेर विदेशमा कामको  र अध्ययनको शीलशिलामा जानेहरुलाई समेत अंग्रेजी भाषाको राम्रो ज्ञान र अंग्रेजीमा बोलचाल गर्न नसक्दा भने जस्तो काम नपाउने र कलेजमा समेत राम्रो सँग बुझेर पढ्न नसक्ने अतिरिक्त अंग्रेजी भाषाको कलास पढ्नु पर्ने हुन सक्छ । अहिले खाडी मुलुकहरु देखि बेलायत , अमेरिका , युरोपका अन्य मुलुक वा एशियन मुलुकहरु जहाँ कामको सन्दर्भमा जाँदा समेत राम्रो अंग्रेजी लेखपढ जानेकाले सजिलै राम्रो काम प्राप्त गर्न सक्ने , काममा पदोन्नति (Promotion) हुन सक्ने , व्यापार-व्यवसाय गर्न सक्ने , सजिलै सामाजिकरण भएर स्थापित हुनसक्ने अवस्था आउँदछ । कतिपय विकसित देशमा जानेहरु समेत अंग्रेजी भाषा राम्रो सँग नजानेका कारण राम्रै पढाई भएका समेत सामान्य लेवर-श्रमिकको काम अर्थात् शारिरीक शक्ती बढि उपयोग हुने काम गरिरहेका छन् भने उनीहरु अफिसियल काम अर्थात् मानसिक शक्ती बढी खर्चिनु पर्ने काम प्राप्त गर्न सकिरहेका छैनन् । नेपालमा स्नातक वा स्नातकोत्तर तह नेपाली माध्यबाट पढेर पास गरेकाहरु पनि सैदान्तिकरुपमा आफुले पढेको विषयमा दक्ष हुँदाहुँदै समेत कम्पनी , कार्यालयहरुमा अफिसियल तहमा काम गर्ने अवसरबाट वंचित हुँदै सामान्य तहको लेवर काममै प्राईभेट स्टोरहरु , रेस्टुरेन्टहरुमा काम गरि जीवन गुजारा गरिरहेको देख्न सकिन्छ । 
 
 अब यो विश्वव्यापिकरणको युगमा नेपालमा पनि सार्वजनिक स्कुलहरुमा सानो कलास देखि नै अंग्रेजी विषयलाई माध्यम बनाई पठनपाठन गर्न थालीहाल्नु पर्ने , विदेश जानु पुर्व कमसेकम बोलचाललाई अंग्रेजी माध्यम बनाउन सक्ने हुनको लागी अंग्रेजी भाषा सिकाउने तालीम सेन्टरबाट अंग्रेजी भाषा सिकेर जाने गर्न सके अंग्रेजी भाषा कै कारण तल्लो तहको काम गर्नु पर्ने , बसोबास गर्ने , दैनिक गतिविधि संचालनमा देखिने भाषागत समस्यालाई समाधान गर्न सजिलो हुने देखिन्छ । भाषाको अल्पज्ञान कै कारण विदेशी भुमिमा अपमानित हुनु पर्ने विविध समस्यामा अल्झिनु  पर्ने समस्याबाट सजिलै समाधान पाउन सकिन्छ । 
 
 अंग्रेजी भाषाको राम्रो ज्ञान भएको र सिपयुक्त  जनशक्ती तयार हुन सके विश्व श्रम बजारमा र खासगरी विकसित देशहरुमा सजिलै रोजगारीको अवसर पाउन सकिने देखिन्छ । विदेशी कलेजमा अध्ययन-अध्यापनको लागी , प्राविधिक क्षेत्रमा काम गर्न, सुचना-संचारलाई विस्तार गरि आधुनिक प्रविधी सामयसापेक्ष प्रयोग गर्न, देशमा पर्यटन उद्योगलाई विस्तार गर्न , आधुनिक टेक्नोलोजीलाई उद्योग-कलकारखानामा उपयोग गर्न , नेपालबाट अनलाईन व्यापारिक गतिविधि विस्तार गर्न, विकसित देशका विभिन्न कम्पनीहरुको संचार  सम्बन्धी काम गर्नको लागी कल सेन्टर स्थापना र संचालन गर्न , आयात-निर्यात व्यापार प्रवर्धन गर्न , विदेश गएर विभिन्न ट्रेनिंग लिन , सेमीनार -गोष्टीहरुमा भाग लिन आदी कामको लागी अंग्रेजी भाषा राम्रो सँग सिकेको , सजिलै अंग्रेजीमा बोलचाल गर्न सक्ने हुनु जरुरी छ ।
 
अत: यो अंग्रेजी सम्पर्क भाषाको अभावमा देखिने विविध समस्याहरु , झेल्नु पर्ने कठिनाई बाट मुक्त हुन अव नेपालमा यो भाषालाई प्राथमिकता का साथ सरकारी पक्षबाट प्रवर्धन गर्न आवस्यक कदम चालिनु पर्दछ । निजी क्षेत्रबाट भएका प्रयासबाट शहरी क्षेत्रमा राम्रो प्रभाव परे पनि अझै पनि ग्रामिण तहमा खासै प्रभाव परेको छैन । एकाध स्कुलहरुमा सामुदायिक प्रयासमा सानो तहबाटै अंग्रेजी माध्यमबाट कलासहरु संचालन गरिएतापनि यसको विकास र विस्तार राम्रोसँग हुन सकेको छैन साथै ग्रामिण तहमा कम्प्यूटर साईन्सको पठनपाठनमा केही पहल र जागरुकता देखिए पनि वि विध समस्याको बाबाजुद प्रयाप्त मात्रामा सबै स्थानहरुमा विस्तार हुन सकेको छैन । यसैले यी दुबै क्षेत्र -अंग्रेजी भाषा र सुचना प्रविधीमा पहुँचको लागी कम्प्यूटर -ईन्टरनेट सम्बन्धी शिक्षा ग्रामिण क्षेत्रमा समेत विकास र विस्तार गर्नमा निजी क्षेत्र, सरकारी , गैर-सरकारी क्षेत्रले समयमै पाईला चाल्नु पर्ने देखिन्छ । 
 (बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका )