मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा बन्द हुने


चितवन, २५ माघ । नारायणगढ–मुग्लिन सडक आउँदो बिहीबार अर्थात् माघ २८ गतेदेखि दिउँसो चार घण्टा बन्द हुने भएको छ । सडक विस्तारका लागि पहाड खन्ने काम भइरहेको छ । जसका लागि केही समय सडक पूर्ण बन्द गर्नु पर्ने बाध्यता रहेको अधिकारीहरुले बताएका छन् । 
 
नारायणगढ–मुग्लिन सडक आयोजनाले निकालेको सूचनामा माघ २८ गते बिहीबारदेखि अर्को सूचना प्रकाशित नहुँदासम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सडक बन्द रहने उल्लेख छ । ‘लगातार केही समय बन्द हुँदा यात्रुलाई अफ्ठ्यारो पर्न सक्छ । तर यसो नगरे हाम्रो कामलाई दू्रतगतिमा अगाडि बढाउन नसकिने भयो’ आयोजनाका इन्जिनियर शिव खनालले भने ।
 
सडक बन्दको समयमा अत्यावश्यक गाडीहरु एम्बुलेन्सलगायतलाई पालो मिलाएर पास हुने व्यवस्था मिलाइने उनले बताए । अरु गाडीहरुले भने वैकल्पिकमार्ग खोजे राम्रो हुने उनको आग्रह छ । काठमाडौं जाने आउने पूर्वका गाडीहरुले हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै नौबिसे निस्कन सक्ने अवस्था छ । तर वैकल्पिक सडकहरु गाडीको धेरै चाप थेग्न सक्ने अवस्थाका भने छैनन् । 
 
नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा नारायणगढ मुग्लिन सडकको स्तर उकास्ने काम हुन लागेको हो । निर्माणका लागि सडक तीन खण्ड बनाएर फरक–फरक निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।