चितवन, २३ माघ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनको बदनाम गराउने प्रहरी कर्मचारीलाई कारवाही गरिने जनाएका छन् । गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने संगठनको नियम रहेको बताउँदै उनले जनतासँग विभिन्न वाहानामा पैसा मागी गलत काम गर्नेलाई कारवाही गरिने बताए ।
समाजमा भएका गलत कामको पर्दाफास गरी कानुनी दायरामा ल्याउने प्रहरीको कर्तव्य हो, तर प्रहरी नै गलत काममा लाग्दा जनतामा नकरात्मक सन्देश गएको छ । केही दिनअघि इप्रका खैरहनीका निरीक्षक अम्बिका गुप्तालाई घुस लिँदै गरेको अवस्थामा अख्तियार टोलिले पक्राउ गरेको थियो ।
त्यस्तै गत हप्तामात्रै डिएसपीसहित ४ प्रहरी कर्मचारी ललितपुरमा गलत काममा प्रयोग भएकोमा नियन्त्रणमा परेका थिए । यी दुई घटनालाई स्मरण गर्दै महानिरीक्षक अर्यालले भने,‘केही कर्मचारीले गलत काम गरी संगठनको गरिमामा आँच ल्याउने काम गरेका छन्, एक, दुई जनाका कारण सिंगो संगठनलाई गलत दृष्टिकोणले हेर्नु भएन ।’
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा शनिबार आयोजित चौँथो वृहत रक्तदान तथा नवनिर्मित प्रहरी परिवार आवास गृहको उद्घाटन गर्दै उनले चितवन, काठमाडौँ र ललितपुरमा प्रहरीका निरीक्षक र प्रहरी नायब उपरीक्षकबाट भएका क्रियाकलापप्रति दुःख व्यक्त गरे । यस शिक्षालयबाट उत्पादित कर्मचारीले जनतामा सकारात्मक सन्देश दिने काम गर्नेमा उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया