मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आज काँग्रेसको क्षेत्रीय र महाधिवेशन प्रतिनिधि निर्वाचन हुँदै

आज काँग्रेसको क्षेत्रीय र महाधिवेशन प्रतिनिधि निर्वाचन हुँदै


काठमाडौँ, २२ माघ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन शुक्रबार हुँदैछ ।
 
काँग्रेसले संविधानसभाको निर्वाचनमा कायम २४० निर्वाचन क्षेत्रानुसार नै यही माघ २२ गते शुक्रबार क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री सहित निर्वाचन अधिकृत खटिइसकेका छन् ।
 
बारा बाहेक अन्य अधिकांश जिल्लाका २२० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन सम्पन्न हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राससलाई जानकारी गराउनुभयो । एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी २० निर्वाचन क्षेत्रमा भने माघ २५ गते निर्वाचन हुने उहाँले बताउनुभयो । बारामा प्राविधिक कारणले निर्वाचन हुन नसक्ने बताइएको भए पनि आन्दोलनरत मधेस केन्द्रित दलको अवरोध भएको ठानिएको छ ।  
 
माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताउनुभयो ।
 
गाउँ र नगरको निर्वाचनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेतृत्वले पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवम् महाधिवेशन प्रतिनिधिको चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था काँग्रेस विधानमा छ ।
 
काँग्रेसमा केन्द्रीय कार्यसमितिका ८५, २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा तीन हजार दुई सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने सचिव पराजुलीले जानकारी दिनुभयो । 
 
काँग्रेसमा हाल २५ जनसम्पर्क समिति, १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रको नेतृत्व चयन गर्ने भएकाले यतिखेर काँग्रेसमा खासगरी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पोल्टामा निर्वाचन परिणाम ल्याउन सक्रिय रूपमा लागेका छन् । 
 
हालसम्म नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र नेत्री सुजाता कोइरालाले केन्द्रीय सभापतिका लागि घोषणा गर्नुभएको देखिएको छ । त्यस्तै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरू डा रामशरण महत, अर्जुननरसिंह केसी लगायतले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । 
 
काँग्रेसमा तीन हजार १५७ गाविस, २१७ नगरपालिका र तिनका वडा, २४० निर्वाचन क्षेत्र र ७५ जिल्लामा कायम पार्टीका स्थानीय कार्य समितिका लागि प्रत्येक चार÷चार वर्षमा निर्वाचन हुन्छ । पार्टीको १३ औँँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । बा¥हौँ महाविधेशनमा तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य थिए ।
 
आगामी महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुदैछ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको यसअघि १२ औँ महाधिवशेन २०६७ साल भदौ १ देखि ४ गतेसम्म काठमाडौँमै भएको थियो । रासस