मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नक्सा पासबिना प्रहरी बिट बन्दै, स्थानीयको विरोध

नक्सा पासबिना प्रहरी बिट बन्दै, स्थानीयको विरोध


चितवन, २१ माघ । एक महिनाअघि भरतपुर उपमहानगरपालिकाको नगरपरिषद्ले नगरभित्र बन्ने संरचनाको नक्सा पास अनिवार्य गर्दै पर्खालसमेत बिना स्वीकृति बनाउन नपाइने निर्णय ग¥यो ।

तर, उपमहानगरपालिकाको कार्यालयनजिकै नहरको डिलमा एउटा भवनबिना नक्सा पास बन्दै छ । जिल्ला प्रहरी कार्यालयले त्यहाँ प्रहरी बिट बनाउँदै छ ।

नारायणी लिफ्ट सिंचाइ आयोजनाको नहरको जग्गामा भवन बनाउँदा प्रहरीले लिखित स्वीकृति पनि लिएको छैन । ‘आवश्यक प¥यो भन्नु भयो । समुदायको सुरक्षाका लागि भवन बनाउने हो भनेपछि हामीले हुन्छ भनेका छौं । मौखिक रुपमा आग्रह भयो ।

मौखिक रुपमै हुन्छ भनियो । त्यस्तो लिखित केही गरिएन’ नारायणी लिफ्ट सिंचाइ आयोजनाका प्रमुख खेमबहादुर पाठकले भने ।

सुरक्षा समितिको बैठकले प्रहरी बिट राख्ने निर्णय गरेपछि आफूहरुले निर्माण कार्य सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए । ‘त्यस क्षेत्रमा एउटा प्रहरी पोष्ट चाहियो भन्ने सर्वसाधरणको माग थियो । हामीले सरकारी जमिनमै बिट निर्माण गर्न लागेको हो’ प्रहरी उपरीक्षक कुँवरले भने ।

उपमहानगरपालिकाले नक्सा पासको कुरा गरेकोसमेत उनले बताए । ‘उपमहानगरपालिकाका कार्यकारी अधिकृतले नक्सापास नभए काम रोक्नु पर्छ भन्दै हुनु हुन्थ्यो । लालपूर्जा भएको जग्गा हामीसँग छैन नभएको जग्गाको नक्सा पास हुँदैन । तर आवश्यक भएका कारण बनाउनै पर्ने भएको हो’ प्रहरी उपरीक्षक कुँवरले भने ।

प्रहरी बिट बनेमा ओहरदोहर गर्ने बाटोसमेत अवरुद्ध हुने भन्दै स्थानीय टोल विकास संस्थाले निर्माण कार्य रोक्न उपमहानगरपालिकामा निवेदन दिएको थियो ।

‘टोल विकास संस्थाबाट उजुरी आएको हो । त्यस ठाउँमा बन्ने भवनको नक्सा पास हुने सम्भावना नै रहँदैन । मैले यही कुरा भनेको हो’ भरतपुर उपमाहनगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले भने ।

टोल विकास संस्थाका पदाधिकारीहरु नारायणी लिफ्ट सिंचाइ कार्यालयमा पनि पुगेका थिए । ‘टोल विकासका मान्छेहरु आएका थिए । मैले त तपाइँहरुको सहमति र आग्रहमा बिट बन्दै गरेको होला भन्ने लागेको थियो त्यस्तो हो भने नगरपालिकामा गएर कुरा राख्नुहोस भनेर उहाँहरुलाई पठाए’ कार्यालय प्रमुख पाठकले भने ।

प्रहरीले अस्थायी रूपमा बिट बनाउन लागेको हुँदा विरोध गर्नु ठिक नभएको प्रहरी उपरीक्षक कुँवरले बताए । ‘बाटो अवरुद्ध हुने गरेर भवन बनेकै छैन । हामीहरुले जनताको सुरक्षाका लागि बिट राख्न खोज्दा उहाँहरुले किन विरोध गर्दै हुनुन्छ अचम्म लागेको छ’ प्रहरी उपरीक्षक कुँवरले भने ।

स्थानीय नागरिक भिलेज टोल सुधार समितिले प्रहरी बीट त्यहाँ बनेमा शाखा बाटोहरुबाट भरतपुरको उकालो निस्कन अवरोध हुने भन्दै निर्माण रोक्न माग गर्दै माघ १७ गते वडा नं. ४ को कार्यालयमा निवेदन दिएको थियो । वडा कार्यालयले निवेदकको व्यहोरा मनासिब रहेको भन्दै थप कारबाही गर्न उपमहानगरपालिका कार्यालयलाई सोही दिन सिफारिस गरेको थियो ।