चितवन, २१ माघ । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज विहीबार कार्यालयबाट नगद ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
जिल्लामा प्रहरीको आन्तरिक कारबाहीमा परेका उनी यस पटक भने अख्तियारको फन्दामा परेका हुन् । विभिन्न मुद्दा मिलाउँदै रकम लेनदने गर्ने गरेको आरोप लागेका उनी यसपटक भने अख्तियारको फन्दामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले यसबारेमा अख्तियारले नै अनुसन्धान गर्ने भएकाले आफूले केही नबोल्ने बताए ।
सेवाग्राहीबाट घुस रकम लिईरहेको बेला अख्तियारले इन्सपेक्टर गुप्तालाई पक्राउ गरेको हो ।
चितवनमा कार्यरत रहँदा उनी पटक–पटक यस्तै हर्कत गर्ने गरेकाले प्रहरीबाट उनी कारवाहीमा परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरले खराब आचारणका कारण पक्राउ परेका इन्सपेक्टर गुप्तालाई यसअघि प्रहरीबाटै आन्तरिक कारवाही गरिएको जानकारी दिनुभयो ।
उहाँले गुप्तालाई पक्राउ पर्नुअघि नै सिन्धुलीको दुधौलीमा काज सरुवा गरि सकेको बताउनुभयो । “मैले जिल्लामा कार्यरत सबै तहका प्रहरीलाई आफ्नो आचारमा बस्न भनेको छु, जो टेर्दैन, स्वत: कारवाहीको भागिदार हुन्छ”–एसपी कुवँरले भन्नुभयो ।
चितवनमा अख्तियारको फन्दामा प्रहरी परेको सम्भवत: यो नै पहिलो पटक हो । यसअघि सिँचाई कार्यालयलगायतमा अख्तियारले छापा हानेको थियो ।
प्रतिक्रिया