मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नर्सहरुको पीडा : काम पाए पारिश्रमिक पाइँदैन

नर्सहरुको पीडा : काम पाए पारिश्रमिक पाइँदैन


चितवन, १६ माघ । नर्सहरुका समस्या एक होइन अनेक छन् । ५४ औँ राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भमा भरतपुरमा भएको कार्यक्रममा यसबारे चर्चा भयो । पढाइ पूरा गरेपछि काम नपाउनु काम पाए पनि राम्रो तलब नपाउनुजस्ता समस्याले नर्सिङ पेसामा लाग्नेहरुलाई निराशा बनाउने गरेको वक्ताहरुले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले अस्पतालहरुले नर्सहरुलाई उचित पारिश्रमिक नदिएको बताए । जिल्लामा अर्ध दक्ष कामदारले दिनको न्युनतम ज्याला चार सय रुपैयाँ पाउने गरेको छ भन्दै प्रमुख जिल्ला अधिकारी सिंहले अस्पतालहरुले नर्सलाई तीन हजार, पाँच हजार र आठ हजार दिएको सुनिन आएको बताए ।

‘एउटा कुनै अस्पतालमा बिरामीको मृत्यु भएर कसैले लफडा ग¥यो भने त्यस्तालाई १२ लाख रुपैयाँसम्म तिर्न तयार हुने अस्पताल सञ्चालकहरुले सेवा गर्ने नर्सहरुलाई भने स्वयम्सेवक बनाएका छन्’ प्रमुख जिल्ला अधिकारी सिंहको भनाइ थियो । यस्तो समस्या अर्थात तलब नदिई काम गर्ने परिपाटी सरकारी अस्पतालमा पनि देखिएको सिंहले बताए ।

निजी अस्पताल सञ्चालकहरुको संस्था नेपाल निजी अस्पताल संघ चितवनका सचिव पुष्प धितालले कुन अस्पतालले श्रम शोषण गरेको हो किटानीका साथ भन्ने परिपाटी नबसेका कारण समस्या बढेको बताए । ‘भन्यो भने जागिर जाने डर छ । त्यसैले कम तलब दिने र तलबै नदिई काम गराउने परिपाटी बढेको हो’ धितालले भने ।

नर्सहरुमा पनि आत्मबल बढ्नु आवश्यक रहेको उनले बताए । ‘दुईजना नर्स मागेको छ भने पाँचजना गएर त्यहीँ दुईजनाको तलब हामी बाँडेर लिउँला दुईजनालाई होइन, पाँचैजनालाई काममा राख्नुहोस् भन्ने चलन छ । बाबुआमासमेत आएर पैसा दिन पर्दैन स्वयम्सेवी नै भए पनि तपाईंको अस्पतालमा राख्नुस् भन्छन्’ धितालको भनाइ थियो ।

जनसंख्याको आधारमा नर्सहरुको दरबन्दी कायम नहुँदा समस्या थपिएको उनले बताए । १५ वर्षअघिको जनसंख्यालाई आधार बनाएर तय गरिएको दरबन्दीबाटै अहिलसम्म काम चलाउने गरिएको धितालको भनाइ थियो । भरतपुर असपताल पाँच सय बेडको हुँदा पनि एकमात्रै अधिकृतस्तरको नर्सले चलाउने गरेको नेपाल नर्सिङ संघ चितवनका निवर्तमान अध्यक्ष उषा थापाको भनाइ थियो ।

नर्सिङ संघले सरकारसँग बेला–बेलामा माग राखेर दरबन्दी थप्न, सेवा सुविधा बढाउन भने पनि सुनुवाइ नभएको कार्यक्रममा सहभागी नेपाल नर्सिङ संघका केन्द्रीय प्रतिनिधि रमेश सुब्बाले जानकारी दिए । संघले सरकारसँग राखेको चार बुँदे माग सुनुवाइ नभए चाँडै नै देशव्यापी अभियान चलाउने उनको भनाइ छ ।