गोरखा, १५ माघ । वैशाखमा गएको ‘गोरखा भूकम्प’ले व्यक्तिगत घरमा पु¥याएको क्षतिबारे लगत सङ्कलन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिइएको छ ।
गोरखाका ६० गाविस र दुई नगरपालिकाभित्र रहेका व्यक्तिगत घरमा भूकम्पले पु¥याएको क्षति र आर्थिक, सामाजिक सूचना सङ्कलनको जिम्मा हर्ड नामक संस्थालाई दिइएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले भूकम्पपीडितका घरको वास्तविक तथ्याङ्क सङ्कलनको जिम्मा उक्त एनजीओलाई दिएको छ । जिल्लास्थित लगत व्यवस्थापन समूहको समन्वयमा व्यक्तिगत घरको तथ्याङ्क सङ्कलनका लागि ६४ जना इन्जिनियरहरू गाउँ÷गाउँ जाँदैछन् । इन्जिनियरका साथमा एकजना सामाजिक परिचालक पनि हुने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए ।
भूकम्पले पु¥याएको क्षतिको फोटोसहित दुई सदस्यीय टोलीले सूचना सङ्कलन गर्ने र कम्प्युटर सफ्टवेयर मार्फत केन्द्रीय तथ्याङ्क विभागमा पठाउने गिरीले बताए । विश्व बैँक र ‘यूएओपीएस’ नामक संस्थाको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागको समन्वयमा हर्ड नामक संस्थाले भूकम्पको क्षतिको लगत सङ्कलन गर्ने भएको हो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्णय गरेरै पहिलो चरणमा इलाका नम्बर ८, ९, १०, ११ र १२ भित्रका ३२ वटा गाविसमा लागत सङ्कलन गर्न हर्डलाई जिम्मा दिएको छ । दुई सदस्यीय टोलीले ४५० देखि ५५० वटा घरधुरीका दरले लगत सङ्कलन गर्ने गिरीको भनाइ छ । कसरी लगत सङ्कलन गर्ने भन्नेबारे केन्द्रीय तथ्याङ्क विभागले इञ्जिनियरलाई तालिम दिइसकेको छ भने सामाजिक परिचालकहरूलाई जिल्लामै दुई दिनको तालिम दिइन्छ ।
भूकम्पपछि घरधुरी सङ्ख्या बढेको र नक्कली भूकम्पपीडितले पनि सक्कली जसरी राहत तथा रकम बुझेको गुनासो बढेपछि पुनः अध्ययन गरेर घरधुरी सङ्ख्या पत्ता लगाउने तयारी गरिएको हो । विसं २०६८ सालमा गरिएको जनगणनामा १० प्रतिशत घरधुरी बढेको अनुमानसहित उक्त टोलीले गाउँ÷गाउँमा भूकम्पले पु¥याएको क्षतिको लगत सङ्कलन गर्नेछ ।
विसं २०६८ को गणनाअनुसार गोरखामा ६६ हजार ५१६ घरधुरी थिए । अहिले घरधुरीको सङ्ख्या बढेर ७१ हजार पुगेको अनुमान गरिएको छ । एकाघरमा बसेका तर सगोलमा खाना नखाने (छुट्टिएर बसेका) घरमुलीको पनि लगत सङ्कलन गरिने गिरीको भनाइ छ ।
प्राधिकरणको कार्यालय खोलिने
भूकम्पपछिको भौतिक संरचना पुनःनिर्माण गर्न गोरखामा पुनःनिर्माण प्राधिकरणको कार्यालय खोल्ने तयारी गरिएको छ । गोरखा र धादिङ जिल्लाको पुनःनिर्माण हेर्नेगरी प्राधिकरणको कार्यालय स्थापना गर्न लागिएको हो । ‘कार्यालय राख्ने घरको खोजी गर्दैछौं’ प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भने, ‘पुनःनिर्माणको काम अघि बढाउन कार्यालय स्थापनाको तयारी छ ।’
१९ गाविस भवन निर्माण गरिने
गोर्खा जिल्लास्थित प्राविधिक कार्यालयले १९ वटा गाविस भवन निर्माण गर्ने भएको छ । भूकम्पले भवन क्षति हुँदा सेवाग्राहीको काम गर्न नसकिएको भन्दै अर्धस्थायी प्रकृतिको भवन निर्माण गर्न लागिएको प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारीले बताए ।
स्थानीय विकास मन्त्रालयले पठाएको बजेटअनुसार चुम्चेत, बिही, हर्मी, थालाजुङ्लगायतका गाविस भवन निर्माण गर्न लागिएको हो । एउटा गाविस भवन निर्माणका लागि रु आठ लाख बजेट आउने भण्डारीको भनाइ छ । भूकम्पले गर्दा जिल्लाका अधिकांश गाविस भवन पनि भत्केका छन् ।
छानबिनका लागि १५ दिनको म्याद
नक्कली भूकम्पपीडितले पनि सक्कली भूकम्पपीडितले जसरी रातो कार्ड र राहत बुझेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिमा परेका नौहजार वटा निवेदनबारे छानबिन गर्न १५ दिनको म्याद थप गरिएको छ । गाविस र पालुङटार नगरपालिकाको छानबिन सम्पन्न गरेको टोलीले गोरखा नगरपालिकाको छानबिन भइरहेको जनाएको छ ।
जिल्ला सरकारी वकिल महेन्द्र थापाको नेतृत्वमा जिल्ला दैवीप्रकोप उद्धार समितिले गत असारमा छानबिन टोली गठन गरेको थियो । अझै एक हजारवटा निवेदन छानबिन गर्न बाँकी रहेको छ । छानबिनपछि पूर्णरूपमा घर क्षति भएकाहरूलाई रातो कार्ड, अस्थायी आवासको १५ हजार र न्यानो कपडाको १० हजार दिइने गिरीले बताए । रासस
प्रतिक्रिया