मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माडीको होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

माडीको होमस्टेमा पर्यटकको आकर्षण बढ्दै


चितवन, १४ माघ । दक्षिणी चितवनको माडी उपत्यकामा हालैमात्र खुलेको सुविधायुक्त होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

स्थापना भएको तीन महिनामा ४०० भँदा बढी पर्यटक आइसकेका छन् । होमस्टेका अध्यक्ष मोहनबहादुर पुन मगरले प्रचारप्रसार हुनसके होमस्टेमा पर्यटकको सङ्ख्या बढ्ने स्थिति रहेको बताए ।

यहाँ मगर समुदायको आठवटा, नेवार समुदायको दुईवटा र दराई समुदाको एउटा होमस्टे रहेका छन् । होमस्टेमा आउने पाहुनालाई आआफ्नै पोसाकमा सजिएर स्वागत गर्ने र मगर जातिको मौलिक संस्कृति देखाउने गरिएको छ ।

पाहुनालाई सोरठी, सालैजु, चुड्का, ठाडोभाकामार्फत मनोरञ्जन दिइन्छ । उनीहरुलाई स्थानीयस्तरमा पाइने मौलिक खाना खुवाउने गरिएको होमस्टे सञ्चालक मनदेवी पुनले बताए । माडीमा पर्यटन प्रवद्र्धनका गर्ने मुख्य लक्ष्य राखेर होमस्टे निर्माण भएको सामाजिक अभियन्ता श्रीप्रसाद दवाडीको भनाइ छ ।

माडी उपत्यका पर्यटकीय दृष्टिले महत्वपूर्ण भए पनि भौतीक पूर्वाधारको अभावमा त्यहाँ पुगेका पर्यटकलाई बसोबासको समस्या हुने गरेको थियो । हाल निर्माण भएको होमस्टेले पर्यटकको बसाइँ लम्ब्याउन सहयोग मिलेको छ ।
होमस्टे सञ्चालनको लागि स्थानीयलाई प्रशिक्षणसमेत दिन थालिएको छ ।

होमस्टेमा प्रतिकोठाको शुल्क ४०० रुपैयाँ र सादा खानाको १०० रुपैयाँ लिने गरिएको छ । माडी संरक्षित वन्यजन्तु बाघ, गैँडा, भालु, हात्ती, जरायोलगायत चराचुरुङ्गीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो । विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रका कारण यो क्षेत्र प्रख्यात छ । यहाँ भारतबाट समेत पर्यटक आएर पूजा गर्ने परशुराम कुण्ड रहेको छ ।

निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि पर्यटकीय गतिविधिले गति लिएको छ । सौराहाबाट सोझै पदमार्ग जोड्न पहल भइरहेको छ ।