मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाका नखुलेसम्म प्रधानमन्त्री भारत नजाने

नाका नखुलेसम्म प्रधानमन्त्री भारत नजाने


काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सबै नाका पूरा खुलेर आपूर्ति सहज नभएसम्म आफू भारत भ्रमणमा नजाने बताएका छन् । 
 
दैनिक पत्रिकाका सम्पादक तथा वरिष्ठ पत्रकारहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओलीले भने, ‘यो अघोषित नाकाबन्दी हो, त्यसकारण अघोषित रुपमै खुल्छ । अब एकदुई दिनमै वीरगञ्ज नाका पनि खुल्छ । नाकाको अवस्था सामान्य नभई भारत भ्रमण जान्नँ ।’
 
प्रधानमन्त्री ओलीले चार महिनादेखि बन्द वीरगञ्ज नाका १/२ दिनमा खुल्ने र अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुने दाबी गरे । वीरगञ्ज नाका खुल्छ भन्ने आधार के छ ?’ सम्पादकहरुको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मित्रताप्रतिको विश्वासको आधार ।’ 
 
प्रधानमन्त्री ओलीले हुन लागेको बताए पनि उनको हाउभाउले भारतसँगको सम्बन्ध अझै सहज नभइसकेको संकेत गरिरहेको थियो । ‘अझै पनि भारतसँग सम्बन्ध तीतो नै छ भन्ने उनको प्रस्तुतिले देखाइरहेको थियो,’ प्रधानमन्त्रीको हाउभाउबारे नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्यालले भने ।
 
प्रधानमन्त्री ओलीले तराईमा पृथकतावादी गतिविधि भइरहेको र त्यसलाई आफूले नियालिरहेको तथा अंगिकृत नागरिकता सहजै बाँडिरहेको प्रसंगसमेत उठाएका थिए ।
 
प्रधानमन्त्रीले स्थिति सामान्य नभई भारत जान्न भनेका छन,’ अर्यालले भने, ‘तर लगत्तै स्थिति अब सामान्य हुन्छ पनि भने ।’
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी हुन आह्वान गरे ।
 
‘के नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन सकिन्छ ?’, पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन म आह्वान गर्छु । सरकारमा सहभागी हुनुपर्छ । अब नेपाली कांग्रेस र नेकपा एमाले सँगसँगै अगाडि बढ्नुपर्छ । संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’ 
 
संविधान संशोधनले समावेशी समानुपातिक सुनिश्चित गरेको बताउँदै ओलीले सबै पक्षका माग संविधानले सम्बोधन गरेको बताए ।
 
‘मैले गर्न नसकिने कुरा बोलेको छैन’
हावाबाट बिजुली निकाल्नेलगायत उनले दिएका अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । मंगलबार सम्पादकहरुसँगको भेट गर्नुको उद्देश्य त्यसलाई चिर्नु पनि देखिन्थ्यो ।
 
‘आज प्रधानमन्त्री धेरै सिरियस त थिएनन् तर उनले जोक पनि खासै गरेनन्’, अर्यालले भने, ‘आलोचना भएका उनका अभिव्यक्तिलाई चिर्न उनले धेरै समय खर्च गरे । त्यसैले धेरै हँसाएनन् ।’
 
प्रधानमन्त्री ओलीले आफूले पूरा गर्न सकिने योजना बनाएको भन्दै सहयोग गर्न आग्रह गरे । ‘देशलाई अप्ठ्यारो परेका बेला सबै सोचेर गर्न सकिने योजना भनेको हुँ । यसलाई सहयोग गर्नुपर्छ’,
 
प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले ओलीलाई उद्धृत गर्दै भने, ‘गर्न नचाहनेले मात्र यसको विरोध गर्ने हुन् । गर्न चाहनेले सहयोग गर्नुपर्छ ।’ आफू लोडसेडिङ अन्त्य गर्ने योजनामा दृढ रहेको ओलीको भनाइ थियो ।
 
‘प्रधानमन्त्रीसँग के कुरा गर्नु भयो ?’ भनी नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले भने, ‘उल्लेख नै गर्नुपर्ने विशेष छैन । मैले कार्यान्वयन गर्न सकिने कुरा नै गरेको हुँ भन्नुहुन्थ्यो । हामीले मान्छेलाई एउटा सिलिन्डर ग्यास नभएको बेला, बच्चाहरुले स्कुल जान नपाएको कुरालाई सम्बोधन नगरिकन यस्तो कुरा गर्दा तपाईँको विरोध भएको हो भन्यौँ ।’
 
पुनर्निर्माणको अभियानमा सरकार गम्भीरतापूर्वक लागेको दाबी गर्दै ओलीले भूकम्पप्रभावित जिल्लामा तीव्र गतिमा आवास योजना अघि बढाइने बताए ।