भो ! हावा अव बतासिन छोड छोड
हावा तिम्रो क्षमतामा कति दम छ,
सागरको पानी तानी,
हिमालमा हिमपात बर्साउन सक्छौ,
असिना र हुरीको बेगमा हिड्दै,
मुगु र बाजुरामा भोकमरी पार्न सक्छौ,
तर हावा,
तिमी हावा नै रहेछौ,
नत तिमीलाई छाम्न नै सके,
नत मेरा आँखाले देख्न नै सके,
कहाँ जान्छौ,
कता ठोकिन्छौ ठेगानै छैन,
हावा नै बनि हावा मै उड्छौ,
हो ! कहिले,
पंखा घुमाउँदै एकै बर्षमा घर-घरमा,
बिजुली नै बाल्न सक्छु भन्छौ,
त कहिले,
हिमाली सिरेठो खाँदै,
शितलहर र लु मा चल्ने,
उत्तर-दक्षिणको रेल नै बन्छु भन्छौ,
हल्लै हल्लाले हल्लिएका हाँगामा बसि,
डाको छोड्दै चिच्याउँदै,
तीन महिना भित्रै घरका ,
चुलाहरु प्याट्ट बाल्छु भन्छौ,
ए हावा ! तिमी कति चलेको,
चल्दैमा के जान्छर भनेर,
वायूपंखे घोडाको दन्ते कथा झै,
सरर आकाशमा उडाउने योजना नबोल,
रावणको आकासे सिढी बनाएर,
जुन-तारा छुने कबुल नगर,
सक्छौ भने,
गरिवका झुपडीमा आँखामा लगाई देउ,
बिजुली, पेट्रोल र ग्यास हैन,
एक जोर न्यानो लुगा पठाई देउ,
भुकम्पले खाएको ज्यान सेक्न,
अनि,
हिऊँका ढिक्काले पुरेका ट्रिपाल ठड्याउन,
ढाडस र साहस बनेर बग ,
वस ! अरु केहि चाहिदैन,
बहकेर बग्न छोड,
सपनामा उड्न रोक,
भो ! हावा यो त अति भो,
अव बतासिन छोड ।
प्रतिक्रिया