ड्यालस, अमेरिका । डा. मुरली अधिकारीद्वारा लिखित ‘सत्य गीता’ पुस्तकको परिचर्चा तथा सम्मान कार्यक्रम आइतबार ड्यालसमा सम्पन्न भएको छ ।
टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा रहेको पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारको निर्माणमा अथक रुपमा कृयाशील डा. अधिकारीको यो पुस्तक गत महिनामात्र लोकार्पण भएको थियो ।

कार्यक्रममा लेखक डा. अधिकारीले आफूले लामो समयसम्म गीताको अध्ययनपश्चात् त्यसलाई बुझेर सरलीकृत रुपमा पुस्तक तयार पारेको उल्लेख गरे । ‘जन्म, मोक्षका कुराहरुलाई अझ गहन रुपमा अध्ययन गरेर, त्यसलाई परिस्कृत गरेर लामो अध्ययनपछि पुस्तकका रुपमा यसलाई प्रकाशित गरिएको हो’, डा. अधिकारीले भने ।
कार्यक्रममा मन्दिरका पुजारी मेघनाथ निरौलाले पुस्तकको समीक्षा गर्दै निकै मेहनत, लामो समय लगाएर प्रकाशित गरिएको पुस्तकले हिन्दु धर्मग्रन्थहरुको सूचीमा अर्को योगदान पुर्याएको चर्चा गरे ।

सोही अवसरमा मन्दिरका संस्थापक तथा समाजसेवी वासुदेव भण्डारीले डा. अधिकारीले अमेरिकामा मात्र नभएर मातृभूमिमा पनि शिक्षा, धर्म–संस्कृति, परोपकारमा क्षेत्रमा योगदान गरेको उल्लेख गर्दै निरन्तरताका निम्ति शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले आफूले गीताका सबै अध्याय अध्ययन गर्न नभ्याए पनि सरल रुपमा लेखिएको यो पुस्तकले आफ्नो चाहना अब पूरा हुने बताइन् । सो अवसरमा मन्दिर बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारीले समेत शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा मन्दिरका तर्फबाट डा. अधिकारीलाई सम्मानसमेत गरिएको थियो । पुस्तक बिक्रीबाट सङ्कलन भएको रकम डा. अधिकारीले मन्दिरलाई प्रदान गर्ने घोषणा गरेका छन् । सो पुस्तक २५ डलरमा मन्दिरबाट खरिद गर्न सकिने जनाइएको छ ।












प्रतिक्रिया