मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेनेटरी प्याड पाएपछि नियमित स्कुल

सेनेटरी प्याड पाएपछि नियमित स्कुल


नवलपरासी, ५ माघ । महिनावारी भएका बेला धेरै छात्राहरु विद्यालय नआउने र आए पनि कक्षा छाडेर घर फर्कन्थे । तर अहिले महिनावारीको समयमा पनि छात्राहरु स्कुल नियमित आउँछन् । नवलपरासी सुनवलका विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुको स्कुल आउने क्रम नियमित भएको हो । 
 
विद्यालयको सहयोग र विद्यार्थीहरु स्वयम्ले मासिक पाँच रूपैयाँ जम्मा गरेर कोष सञ्चालन गरी सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुलाई सहज भएको हो । सुनवल बनकट्टीको भगवती माविकी शिक्षिका एवम् बाल फोकल पर्सन लक्ष्मी पौडेलले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरु विद्यालय नियमित आइरहेको बताइन् ।  
 
बालमैत्री नगरपालिका घोषणा भएको सुनवल नगरपालिकाका मावि तथा उच्च मावि तहका सम्पूर्ण विद्यालयहरुमा बाल फोकल पर्सन निर्धारण गरेर सेनेटरी प्याडको व्यवस्था गरिएको छ ।
त्यस्तै, भगवती माविका प्रधानाध्यापक खेमलाल शर्माले आफ्नो विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुबाट मासिक पाँच रूपैयाँ संकलन गरेर कोष स्थापना गरेको बताए । 
 
लक्ष्मी पौडेलले छात्राहरुले आफूहरु महिनावारी भएको समय निर्धक्कसँग कार्यालयमै आएर कुनै लाज नमानी सेनेटरी प्याड माग्ने गरेको बताइन् । जिल्ला शिक्षा कार्यालय नवलपरासीले जिल्लाका सम्पूर्ण विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गर्न अनिवार्य गरेको छ ।  
 
सुनवल बाल क्लबको अध्यक्ष वर्षा गैरेले विद्यालयहरुमा रहेको बाल क्लबको सहायतामा विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरिएको बताइन् । सोमनाथ उच्च मावि कक्षा १२ मा अध्ययनरत निरुता गैरेले विद्यालयहरुमा प्याडको व्यवस्था गरेपछि छात्राहरु विद्यालय नियमित हुने क्रम बढेको बताइन् । गैरेका अनुसार सुनवलका हरेक विद्यालयमा सेनेटरी प्याड अनिवार्य गरिएको छ ।
 
नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले सुनवलका अतिरिक्त रामग्राम नगरपालिका, कावासोती नगरपालिका, गैंडाकोट नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था भएको बताए । 
 
लम्सालले भने, ‘यसले निक्कै राम्रो प्रभाव पारेको छ । छात्राहरुको महिनावारीको समयमा विद्यालयमा उपस्थित नहुने क्रम घटेको छ ।’ जिल्ला शिक्षा कार्यालयमा यससम्बन्धी कुनै कार्यक्रम नभए पनि विद्यालयहरु आफैले कोष स्थापना गरेर सेनेटरी प्याड वितरण भइरहेको सहायक जिल्ला शिक्षा अधिकारी लम्सालले बताए ।