दाहखानी, चितवन, ५ माघ । चुनी गुरुङ १९ वर्षकी भइन् । उनको कोखबाट माघ ३ गते दोस्रो सन्तानको रुपमा छोरा जन्मिएको छ । उनी सानै उमेरमा दुई सन्तानको आमामात्र बनिनन् । उनले योभन्दा संकटको ठूलो पहाड बोक्नु परेको छ ।
भूकम्पले बस्न नमिल्ने गरेर उनको घर भत्कायो । गाउँ नै त्रासमा पर्ने गरी जमिन चिरियो । अचेल पुरानो थातथलोभन्दा धेरै पर बस्छ उनको परिवार । गाउँ नै सरेर नयाँ ठाउँमा आए पनि सुविधा केही छैन ।
अस्थायी रुपमा बस्नका लागि सरकारले उनीहरुलाई नयाँ ठाउँमा ल्याएको हो । त्यसैले बस्ने घरहरु पनि अस्थायी प्रकृतिका छन् । बाँसको कप्टेराले बारेका सानो छाप्रोमा उनीहरु बसेका छन् । यो चिसोमा जस्ताको छानोबाट शीत चुहिन्छ । बारबाट सिरेठो छिर्छ ।
सुत्नलाई खाट छैन । यस्तो ठाउँमा भर्खरकी सुत्केरी बस्दा बच्चा र आमालाई केकति कष्ट बेहोर्नु परेको होला सबैले अन्दाज लगाउन सकिन्छ ।
चितवन सदरमुकाम भरतपुरदेखि झण्डै १० किलोमिटर पूर्वउत्तरमा रहेको दाहखानीको अवस्था हो यो । दाहखानी गाविसको वडा नं। ६ सिमलढापमा सोही गाविसको वडा नं। ८ कुँयलघारीका भूकम्पपीडितहरु अस्थायी रुपमा बस्दै आएका छन् ।
कुँयरघारीमा १२७ घर थिए । सबैलाई सिमलढापमा ल्याइएको छ । ‘कुँयलघारीमा ५१ सालमा पनि ठूलो पहिरो गएको हो । त्यसपछि ६० सालमा पनि डरलाग्दो पहिरो खस्यो । अहिले भुइँचालो जाँदा डाँडो नै चिरियो । त्यही बसे रिग्दीखोलामा परिने डर बढेर गएपछि गाउँ नै छाडेका हौँ’ विस्थापित भएका काजीलाल गुरुङले भने ।
कुँयलघारीका १२७ घरमध्ये दलित समुदायका लगभग आधा छन् । बाँकी घरहरु गुरुङ, मगर र चेपाङ समुदायका हुन् । पुरानो ठाउँबाट पैदल जानु पर्ने पाँच घण्टा दक्षिणको सिमलढापमा आएर बस्दा उनीहरुको जीवन निकै कष्टकर छ । अस्थायी छाप्रोमा बस्न सकस छ । खाने अन्नको जोहो गर्न समस्या छ । बिजुली पानी सबैको समस्या छ । त्यस्तो ठाउँमा सुत्केरीको अवस्था बेहाल छ ।
‘मसँग त सिरक पनि थिएन । सुत्केरी भएपछि ससुराले एउटा सिरक दिनु भयो । ससुरालाई फेरि नन्दले खोजेर ल्याइदिनुभयो’ पुस ९ गते बिहान छाप्रामै पहिलो सन्तान छोरी जन्माएकी २४ वर्षीया मञ्जु गुरुङले सुनाइन् । सोही शिविरमा रहेकी १९ वर्षीया माया विकले पनि दुई महिनाअघि छोरीलाई जन्मदिएकी थिइन् ।
‘गरौं काम पाइँदैन । खेती लगाउने कुरै भएन । हातमुख जोड्न धौंधौं छ । यस्तो ठाउँका सुत्केरीलाई के खुवाउने कसरी सुताउने ? आपत छ आपत’ सोही अस्थायी शिविरमा बसेकी ५१ वर्षीया सूर्यकुमारी विकले भनिन् । पुरै दाहखानीमा भूकम्पले घर पूर्ण क्षतिग्रस्त भएर रातो रंगको परिचयपत्र पाउने जम्मा ७० घर रहेको गाविस सचिव कपिलदास सुवेदीले बताए ।
बस्तीमा चिरा परेर पहिरो जाने जोखिमले गाउँ नै विस्थापित भए पनि कुँयलघारीमा धेरैसँग घर ध्वस्त भएकाले पाउने रातो रंगको परिचयपत्र छैन । त्यसैले सरकारले न्यानो कपडा किन्न रातो कार्ड भएकालाई मात्रै दिने १० हजार रुपैयाँ पनि त्यहाँ बस्ने धेरैले पाएका छैनन् । सुत्केरी भएकाहरु रातो कार्ड नपाउनेमध्येका हुन् ।
प्रतिक्रिया