मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुद्धिष्ट र मुस्लिम मिलेर बनाए दुर्गा मन्दिर

बुद्धिष्ट र मुस्लिम मिलेर बनाए दुर्गा मन्दिर


चितवन,  ५  माघ । बुद्धिष्ट धर्म मान्ने तामाङ समुदाय धार्मिक आस्थाअनुसार गुम्बा जाने गर्छन् । मुस्लिमहरु मस्जिद जान्छन् । हिन्दुहरु मन्दिर धाउँछन् । त्यस्तै क्रिस्चियनहरु चर्च । विश्वमा एक अर्को धर्मबीच द्वन्द्व चलिरहँदा चितवनमा भने धार्मिक सहिष्णुता झल्कने फरक धर्मका व्यक्तिहरु मिलेर दुर्गा मन्दिर स्थापना गरेका छन् । 
 
तर अनौठो संयोग नै मान्नुपर्छ । पश्चिम चितवनस्थित दिव्यनगर प्रहरी चौकी परिसरमा तामाङ जातिको नेतृत्वमा मुस्लिम धर्म मान्नेहरुले हिन्दू धर्मको आस्था मानिने मन्दिर स्थापना भएको छ । 
 
इलाका प्रहरी कार्यालय दिव्यनगर परिसरमा १० लाख लगानीमा बनेको मन्दिरको सोमबार मध्य क्षेत्र प्रहरी कार्यालयका प्रमुख डीआईजी देवेन्द्र सुवेदीले उद्घाटन गरे । १०८ दियो बालेर डीआईजी सुवेदीले मन्दिर उद्घाटन गरेका हुन् । 
 
‘माँ दुर्गा भवानी मन्दिर’ नाम दिइएको यस मन्दिर निर्माण समितिको संयोजकमा गोविन्द तामाङ रहेका छन् । मन्दिर निर्माण गर्ने अवधारणा उक्त प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोहम्मद लतिफ अन्सारीले ल्याएका थिए । उनकै पहलमा मन्दिर निर्माण गरिएको हो ।  
 
‘एक धर्म र अर्को धर्मबीच आपसी लडाइँ चलिरहँदा हामी कहाँ भने धार्मिक सहिष्णुताको अनुभूति हुने काम भएको छ’ कार्यक्रमका प्रमुख अतिथि डीआईजी सुवेदीले भने, ‘नेपालमा मात्रै होइन विश्वमै यो एउटा उदाहरणीय काम हुन सक्छ ।’ 
 
विभिन्न जातजाति र धर्मबीच द्वन्द्व चलिरहेको अवस्थामा धार्मिक र जातीय सहिष्णुता कायम राख्न यो काम प्रशंसनीय छ । धार्मिक एकताका साथै प्रहरी नागरिकबीचको सहकार्यको नमुना काम भएको उनले बताए । नागरिक र प्रहरी मिलेर सहकार्य गरेको खण्डमा जस्तोसुकै अप्ठेरा कामहरु पनि सहज हुने र समाजमा शान्ति कायम राख्न दुई निकायबीचको सहकार्य जरुरी रहेको डीआईजी सुवेदीले बताए । 
 
मुस्लिमको सक्रियता, तामाङको नेतृत्वमा मन्दिर बन्नु निकै अनौठो काम भएपनि यसले समाजमा सकारात्मक सन्देश लैजाने चितवन प्रहरी प्रमुख एसपी बसन्तुबहादुर कुँवरले विश्वास व्यक्त गरे । देशमा सामाजिक सद्भावको अभाव हुँदा धार्मिक एकता कायम गर्न मन्दिर निर्माण कार्यले ठूलो योगदान दिने एसपी कुँवरले बताए ।
 
इप्रका दिव्यनगर चौकीका प्रमुख सई मोहम्मद  लतिफ अन्सारीले नेपालमा मात्र नभई विश्वभरि नै धार्मिक सहिष्णुताको सन्देश फैलाउनको लागि नमुना काम गरिएको जानकारी दिए । मन्दिर निर्माणका लागि दिव्यनगर क्षेत्रका स्थानीयसँग सहकार्य गरी चार महिनाको अवधिमा निर्माण पूरा गरिएको उनले बताए । 
 
‘मुस्लिम भएर हिन्दूको मन्दिर बनाएको भनी धेरै प्रश्न र सोधपुछ पनि भए, सई अन्सारीले भने, ‘सामाजिक सद्भाव कायम राख्न अब एकले अर्कोलाई सम्मान गर्नु जरुरी छ ।’ साथै उनले पर्खाल, गेट, खानेपानीलगायतको पूर्वाधार पनि तयार पारिएको जानकारी दिए । झण्डै पाँच लाख रुपैयाँको लगानीमा अन्य भौतिक संरचना तयार पारिएको उनले बताए । 
 
माँ दुर्गा मन्दिर निर्माण समितिका संयोजक गोविन्द तामाङले साझा नेपालीको अवधारणा अनुसार गाउँका सवै मिलेर धेरथोर रकम जम्मा गरी मन्दिर निर्माण गरिएको जानकारी दिए ।