मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुन्छ : उपप्रम रायमाझी

एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुन्छ : उपप्रम रायमाझी


फलेवास (पर्वत), १ माघ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गर्नुभएको छ । शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट सम्पन्न गरेर एक वर्षभित्र लोडसेडिङ कम गर्ने बताउनुभयो । 
 
उहाँले एक वर्षभित्रमा झण्डै २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गर्नुभएको हो । उहाँले नाकाबन्दीको प्रभावकाबीचमा पनि सबै आयोजनालाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिमचरणमा पुगेका योजनाले विद्युत् उत्पादनका लागि तीव्ररुपमा काम अघि बढाएको बताउनुभयो । 
 
मन्त्री रायमाझीले ऊर्जा सङ्कटकाल घोषणा गरेर मुलुकलाई तीव्रगतिमा विद्युत्मा आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागू गर्ने चरणमा रहेको बताउनुभयो । 
 
उहाँले नेपालमा तेल र ग्यासको अभावका कारण विद्युत्को माग बढी भएको बताउँदै विद्युत्को माग बढी भएकै कारण लोडसेडिङ पनि बढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी सरकारले कार्ययोजना अघि बढाइसकेको पनि जानकारी दिनुभयो । 
 
विद्युत् अत्यधिक खपत हुँदा अहिलेसम्म साढे पाँच सय भन्दा बढी ट्रान्समिटर पड्किएको बताउँदै लोडसेडिङ बढाउनु पर्ने बाध्यता भएको स्वीकार गर्नुभयो । 
 
रायमाझीले नाका सहज हुने वित्तिकै लोडसेडिङ पनि कम हुने बताउनुभयो । सहजरुपमा ग्यास र इन्धन भित्रिने वित्तिकै लोडसेडिङ पनि कम हुन्छ, मन्त्री रायमाझीले भन्नुभयो–‘त्यसपछि लोडसेडिङ पनि क्रमशः घट्दै जान्छ ।’ उपप्रधानमन्त्री रायमाझीले तराई केन्द्रित दलको वार्ता सहमति नजिक पुगेकाले एक साताभित्रै नाका सहज हुने समेत दाबी गर्नुभयो । 
 
रायमाझीले सबै दल र वर्गको सहभागिता गराउन मन्त्रिमण्डल जम्बो बने पनि जनभावनाअनुसार काम गर्ने दाबी गर्नुभयो । एनेकपा (माओवादी) सरकारप्रति रुष्ट छ भन्ने हल्ला गलत भएको बताउँदै गठबन्धनको सरकार तत्काल नढल्ने दाबी समेत गर्नुभयो । 
 
ऊर्जामन्त्री रायमाझीले शुक्रवार बिहानै पर्वतको कुश्मा नगरपालिका– १२ मा निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत परियोजनाको निरीक्षण समेत गर्नुभयो । सो अवसरमा आयोजनाको निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाउन समेत निर्देशन दिनुभएको छ । रासस