मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देवघाटधाममा भव्य मकर मेला

देवघाटधाममा भव्य मकर मेला


देवघाटधाम १ माघ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा धार्मिक क्षेत्र देवघाटमा लाग्ने देवघाट मेलासँगै मकर स्नान सुरु भएको छ ।
 
आज शुक्रबार परेको माघे संक्रान्तिको दिन स्नान गर्न आउने भक्तजनको व्यवस्थापनका लागि बिहीबारबाटै मेला सुरु भएको हो । माघे संक्रान्ति मेलाको हरिहर सन्यास आश्रमका पिठाधीश १००८ श्री स्वामी ज्ञानानन्द सरस्वतीले उद्घाटन गरेका थिए ।
 
गलेश्वर आश्रमबाट बासको लिङ्गो लिएर बाजा गाजासहित देवघाटको बेणीमा पुगेका भक्तजनसँगै स्वामी ज्ञानानन्दले बासको लिङ्गो गाडेर देवघाटको माघे संक्रान्ति मेलाको उद्घाटन गरेका हुन् ।
 
बासको लिङ्गोमा ओमकार अंकित झण्डा झुण्डाइएको छ । यसलाई देवघाटमा शुभ सङ्केतका रुपमा लिइने गरिन्छ । बिहिबारबाटै देवघाट क्षेत्रमा लोडसेडिङ नहुने व्यवस्था मिलाइएको छ ।
 
देवघाटको चितवनतर्फ भरतपुर उपमहानगरपालिकाले र तनहुँ तर्फको भूभागमा देवघाट क्षेत्र विकास समितिले सडक बत्तीको व्यवस्था मिलाएको छ ।
 
रातिमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा आगो (धुनी) को व्यवस्था मिलाइएको छ । बेणीमा स्नान गर्नका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । डोरी बाँधेर स्नानका लागि सुरक्षित ठाउँको व्यवस्था गरिएको छ । 
 
झोलुङ्गे पुलवाट आवतजावतका लागि विशेष सुरक्षा अपनाइएको छ । प्रहरी नै लगाएर लाइनमा झोलुङ्गे पुल वारपार गर्ने व्यवस्था मिलाइएको छ । झोलुङ्गे पुलबाहेक भक्तजनलाई वारपार गराउनका लागि नारायणी नदीमा पर्याप्त डुँगाको व्यवस्था मिलाइएको छ । देवघाट आउने भक्तजनको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था पनि मिलाइएको छ ।
 
चितवन र तनहुँका सुरक्षाकर्मीले देवघाटको सुरक्षाका लागि संयुक्त सुरक्षा दस्ता तयार पारेर सुरक्षामा खटिएका हुन् । चितवन  प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले देवघाटमा लाग्ने मेलाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।
 
‘आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ’ उनले भने, ‘चितवन र तनहुँ दुबैतर्फ सुरक्षा समन्वयमा सुरक्षा रणनीति बनाइएको छ ।’ सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनको लागि समितिले देवघाटको वेणी संगममा कमाण्ड पोष्ट निर्माण गरेर सुरक्षा दिएको छ । चितवन र तनहुँ प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेर अगाडि बढ्ने जनाएको छ ।
 
समितिले मेलाको व्यवस्थापनको लागि सुरक्षाकर्मीका अलवा २०० स्वयम्सेवक परिचालन गरेको छ । त्रिशूली र दामोदर कुण्डबाट आएको नदीको संगममा माघे संक्रान्तिका दिन स्नान गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । वेणी संगममा कालीगण्डकीको संगम भएकोले देवघाटमा माघेसंक्रान्ति मेला लाग्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले जानकारी दिए । 
 
पार्किङ शुल्कदेखि गाडी भाडा तय 
देवघाटधाममा भक्तजनहरुको भीड लागेको छ । देवघाट पुग्न नारायणगढबाट बसको सुविधा छ।
 
नारायणगढबाट साविकको देवघाटसम्म पुग्ने गाडीको रुटको साटो बिहीबार र आज शुक्रबार नारायणगढ, रामनगर हुँदै देवघाट जाने नयाँ एकतर्फी रुट प्रयोगमा आउँछ । जाँदा रामनगर हुँदै र फर्कदा पहिलेको साविक रुट प्रयोग हुन्छ । देवघाटको साविकको एकतर्फ भाडा २५ रुपैयाँ भए पनि मेलाअवधिमा क्षेत्र विकास समितिले ३० रुपैयाँ तय गरेको छ ।
 
झोलुंगे पुल पुरानो भएकाले नदी तरेर बेणीमा जानका लागि भीडभाडमा धेरै भार नपरोस् भन्नका लागि एक मिटरको फरक रहने गरेर मान्छे पठाउने व्यवस्था समितिले मिलाएको छ । पुलबाट तर्दा लाइन बस्नुपर्ने हुन्छ । जसका कारण अबेला हुने हुँदा धेरैले डुंगा तरेर वेणीमा स्नान गर्न जाने गरेका छन् । समितिले एकतर्फी डुंगा भाडा २५ रुपैयाँ तोकेको छ ।
 
समितिले प्रशस्त काठका डुंगा र ¥याफ्टिङ बोटहरुको व्यवस्था गरेको छ । समितिका अध्यक्ष शैलेन्द्र पियाका अनुसार सबै खालका डुंगाको भाडा एकै प्रकारको हो । त्यसै गरेर पार्किङमा राखिने ठूला गाडीको ५०, जीप कारको २५, मोटरसाइकलको १० र साइकलको पाँच रुपैयाँ पार्किङ शुल्क तोकिएको समितिले बिहीबार बिहान पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
 
स्नान गर्न आउनेहरुसँग उल्लेखित दर रेटभन्दा बढी शुल्क लिएमा वा सुरक्षासँग सम्बन्धित अन्य समस्याहरु आएमा तुरुन्त प्रहरीलाई खवर गर्न अध्यक्ष पियाले अपिल गरे ।
 
देवघाट मेलाको सन्दर्भमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन फरक ढंगले भयो । बेणीनजिक नदीमै काठका डुंगा र ¥याफ्टिङ बोटमा पत्रकार र आयोजकहरु बसेर पानीमाथि नै पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।
 
देवघाटको स्नान निकै परापूर्व कालदेखि चल्दै आएको छ । महादेव आफ्ना गणहरुका साथ देवघाटमा बस्ने गरेको, राम सीतालेसमेत देवघाट नुहाउने गरेको धार्मिक कथन र विश्वास रहेको छ । ‘यस्तो पवित्र पुण्यभूमिमा आएर स्नान गरे मोक्ष मिल्छ भन्ने जनविश्वासले माघे संक्रान्तिमा लाखौं भक्तहरु स्नानका लागि आउँछन्’ क्षेत्र विकास समितिका अध्यक्ष पियाले भने ।
 
माघे संक्रान्तिको अघिल्लो दिनबाट सुरु भएको चहलपहलभोलि पल्टसम्म कायम रहन्छ । देवघाटमा माछा, मासु र मदिरा निषेध छ । सुरक्षा, सरसफाइ र उद्धारकालागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन छ ।