मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसमा दुवैलाई मिलाएर लैजान्छु : नेता देउवा

काँग्रेसमा दुवैलाई मिलाएर लैजान्छु : नेता देउवा


पोखरा, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा पक्ष विपक्ष दुवैलाई आफूले मिलाएर लैजाने बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बुधबारदेखि जारी दुई दिवसीय संविधानसम्मत नीति र विधान विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको हिजो समापन समारोहमा उहाँले पार्टीभित्रको निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले यसमा जित्नेले हार्नेलाई लिएर र हार्नेले जित्नेलाई साथ दिएर अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।

पार्टीभित्रको पक्ष विपक्षलाई गुटबन्दी भन्न नमिल्ने उल्लेख गर्दै उहाँले पार्टीलाई एकजुट बनाउने मुख्य जिम्मेवारी जित्नेको हुने बताउनुभयो । पार्टीमा पक्ष र विपक्षको सन्तुलन भएमा सङ्गठन बलियो बन्ने उहाँको भनाइ छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद कमला पन्तले पार्टी निर्वाचनमुखी नबनी नीति र कार्यक्रममुखी हुनुपर्ने धारणा राख्नु भयो । केन्द्रीय सदस्य एवम् सांसद अर्जुन जोशीले पार्टीमा कार्यकर्ताको सही मूल्याङ्कन नहुँदासम्म पार्टी सङ्गठन सबल बन्न नसक्ने उल्लेख गर्नु भयो ।

केन्द्रीय सदस्य एवम् सांसद रत्ना शेरचनले संविधान जारी भइसकेपछिका चुनौतीलाई सामना गर्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस, कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले कस्तो बन्यो संविधान रु सद्भाव र एकताको अभियान भन्ने नाराका साथ आयोजित प्रशिक्षणबाट प्रदेश नं ४ का नेपाली काँग्रेसका क्रियाशील व्यक्तिलाई महत्वपूर्ण फाइदा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न जिल्लाका सभापति एवम् सांसद हरि घले, प्रकाश शर्मा, रेशमबहादुर बानियाँ, महाधिवेशन प्रतिनिधि कल्पना गिरी, क्षेत्रीय सभापति दुर्गाबहादुर रानालगायतले लामो समयको सङ्घर्षबाट प्राप्त संविधानले प्रत्येक वर्ग, जातजाति र समुदायका भावनालाई समेटेको बताउँदै यसको कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी काँग्रसको भएकोमा जोड दिनुभयो ।

प्रशिक्षणमा प्रदेश नं ४ अन्तर्गत नेपाली काँग्रेसका जिल्ला सभापति, क्षेत्रीय सभापति र निर्वाचन क्षेत्रअन्तर्गतका महिला महासमिति सदस्यको सहभागिता थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यका अनुसार प्रतिष्ठानले यस किसिमको प्रशिक्षण प्रदेश नं ७ अन्तर्गत धनगढीमा गत पुस ८ गते, प्रदेश नं १ को विराटनगरमा पुस २३ र २४ गते गरिसकेको छ ।

आगामी माघ ३ र ४ गते प्रदेश नं ५ को दाङ घोराइमा र माघ ६ र ७ गते प्रदेश नं ६ को सुर्खेतमा अभिमुखीकरण एवम् प्रशिक्षण गर्ने तय भइसकेको छ ।

प्रदेश नं २ र ३ मा भने कार्यक्रम तय गर्न बाँकी रहेको आचार्यले जानकारी दिनुभयो । रासस