मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा नेपाली पाठशाला चलाइने

टेक्ससमा नेपाली पाठशाला चलाइने


हिमालय खबर संबाददाता, टेक्सस – जनवरी १४ I 
नेपाली समाज टेक्ससले आफ्नो भाषा, संस्कृतिका बारेमा बालबालिकाहरुलाई जानकारी गराउन …नेपाली पाठशाला' चलाउने भएको छ।
 
समाजको बुधबार बसेको बैठकले नेपाली भाषा, संस्कृति, नैतिक शिक्षाका बारेमा बालबालिकालाई जानकारी दिन पाठशाला चलाउने निर्णय गरेको हो। …हप्तामा एक पटक सञ्चालन हुने यो पाठशालामा नेपाली नृत्य पनि पढाउने निर्णय गरेका छौं,' समाजका नव निर्वाचित अध्यक्ष कृष्ण लामिछानेले भने। 
 
समाजको गत महिना भएको चुनावपछि निर्वाचित कार्यसमितिको पहिलो बैठकले यो निर्णय गरेको हो। अमेरिकामै जन्मेका र सानै उमेरमा अमेरिका आएर यहीबाट विद्यालय शिक्षा थालेका नेपाली बालबालिकाहरुलाई लक्षित गरेर पाठशाला सुरु गर्न लागिएको हो। उक्त  बैठकमा  ड्यालस फोर्टवोर्थमा रहेका प्राय सबै संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति  थियो I 
 
यही जन्मेका र सानै उमेरमा अमेरिका आएर स्कूल जान सुरु गरेका अधिकांश बालबालिकाहरु नेपाली भाषा बोल्न सकेपनि पढ्न र लेख्न जान्दैनन्। घरपरिवारमा नेपाली भाषा बोलेपनि स्कूलमा अंग्रेजी भाषामा बोल्ने र पढाई हुने कारणले गर्दा पछिपछि नेपाली भाषामा बोल्न समेत उनीहरुलाई कठिनाई भएको महसुस अभिभावकहरुले गरेका छन्। 
 
…कमसेकम आफ्नो मातृभूमि जाँदा त्यहाँ नेपाली भाषामा लेखिएका कागजपत्र र पत्रपत्रिका पढ्न जानुन् भनेर हामीले पाठशाला चलाउने निर्णय गरेका हौं,' लामिछानेले भने। नेपालीका छोराछोरी आफ्नै भाषामा पढ्न र लेख्न जानेनन् भने निरक्षर सरह हुने अवस्था आउन नदिन यस्तो काम थालिएको हो।
 
आउँदो जनवरी २४ देखि ड्यालसको अर्बिङस्थित नेपाली मन्दिरमा हरेक आइतबार नेपाली भाषाको कक्षा सञ्चालन हुनेछ। नेपालीका अतिरिक्त गणित र नैतिक शिक्षा पनि यो कक्षामा पढाई हुनेछ। कक्षाका लागि यही जनवरी १७ देखि भर्ना थालिने उनले बताए। १ देखि १० कक्षासम्मका विद्यार्थीलाई लक्षित गरेर पाठशाला चलाउन लागिएको हो। यसमा नेपाली नृत्यका बारेमा पनि कक्षा चलाएर सिकाइनेछ। 
 
यसैगरि समाजको बैठकले अमेरिकामा रहेका नेपालीलाई कुनै आपतविपत पर्दा सहयोग गर्नेगरि स्थायी प्रकृतिको …आपतकालिन कोष' खडा गर्ने निर्णय गरेको छ। यो कोषमा कार्यसमितिका पदाधिकारीहरुले रकम राखेर सुरुवात गरेका हुन्। 
 
यहाँ रहेका नेपाली र नेपालमा पनि कुनै सहयोग आवश्यक पर्दा काम चलाउन सक्ने हिसाबले यो कोष खडा गर्ने निर्णय गरेको समाजका  महासचिब कमल सत्यलले  जनाएको छन्। 
 
अमेरिकाका केही राज्यहरुमा नेपाली भाषा पढाई हुने पाठशाला चलाउने प्रयास नेपालीहरुले यसअघिपनि गरेका थिए। तर अभिभावकहरुकै प्रतिवद्धता नभएपछि कहिँपनि राम्रोसँग चल्न नसकेर बन्द भएका थिए।