मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देवघाटधाममा माघे संक्रान्ति मेलाको तयारी पूरा

देवघाटधाममा माघे संक्रान्ति मेलाको तयारी पूरा


चितवन, ३० पुस । हिन्दूहरुको विशेष पर्व माघे संक्रान्तिको अवसरमा चितवन र तनहुँको संगमस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पुरा भएको छ ।

मेलाको व्यवस्थापन गर्दै आईरहेको देवघाट क्षेत्र विकास समितिले आज पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । देशको मध्यभागमा पर्ने पवित्र तीर्थस्थल देवघाटले ऐतिहासिक, पौराणिक, साँस्कृतिक एवम् पर्यटकीय महत्व बोकेको छ ।

गोसाईकुण्डबाट आएको त्रिशुली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको संगम स्थल वेणीमा हरेक वर्ष माघे संक्रान्ति मेला लाग्ने गर्दछ । देवघाटधामको वेणी संगममा डुङ्गामा पत्रकार सम्मेलन गरेर समितिले तीर्थस्थलमा धुम्रपान, मदिराजन्य वस्तु निषेध गरेको, झोलुङ्गे पुलमा एक पंक्ति भई हिड्न, धेरै दुर्घटना हुने भएकाले वेणी संगममा डोरी लगाएर स्नान क्षेत्र छुट्टाएको, मेला अवधिभर लोडसेडिङ नहुने लगायत अन्य सूचना जारी गरेको जनाएको छ ।

साथै संभावित दुर्घटनाको लागि शसस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरीनटारबाट २ वटा उद्धार रयाफ्टििङ र स्थानीय डुङ्गाको प्रयोग गरिने जनाएको छ ।

समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा १२५ सदस्यीय माघे संक्रान्ति मेला व्यवस्थापन समिति २०७२ गठन गरेको छ । जसमा चितवन र तनहुं दुवैतर्फको लागि करिव २५० जना स्वयमंसेवकहरु र जिलला प्रहरी कार्यालय चितवनको संयोजनमा करिव पाँच सय जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

मेलालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्नको लागि समितिले विभिन्न उपसमिति र सहयोग समिति समेत गठन गरेको जनाएको छ ।

सम्मेलनमा १००८ ज्ञानानन्द सरस्वती, शसस्त्र प्रहरी बल आपटांडीका प्रमुख विदुर खड्का लगायतको उपस्थिति रहेको थियो ।