मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वार्ता सफल बनाउन लचिलो बनौँ : उपप्रम गच्छदार

वार्ता सफल बनाउन लचिलो बनौँ : उपप्रम गच्छदार


विराटनगर, २९ पुस । उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ठूला दल र मधेसवादी दललाई आफ्नो अडान छोडी लचिलो भएर वार्तालाई सफल बनाउन अग्रसर हुन आग्रह गर्नुभएको छ ।
 
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मोर्चालाई अतिवादी सोचाइलाई त्यागेर सीमाङ्कनको विषयमा लचिलो हुन आग्रह गर्नुभयो ।
 
सीमाङ्कनको विवाद समाधानका लागि झापा, मोरङ र सुनसरीलाई टुक्र्याउन नहुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले यी जिल्लालाई टुक्र्याएको खण्डमा आफ्नो पार्टीले शान्तिपूर्ण आन्दोलन गर्ने  बताउनुभयो ।
 
उहाँले मधेसवादी दलको मागलाई पूरा गर्न र पूर्वी क्षेत्रका जनताको भावनालाई समेट्न झापा, मोरङ, सुनसरी र सिरहाको केही भागसमेत गरी आठ प्रदेश बनाउनु नै उत्तम विकल्प रहेको धारणा प्रकट गर्नुभयो ।
 
उहाँले पश्चिमको कैलाली र कञ्चनपुरलाई तल्लो तथा पाल्पा, गुल्मी र अर्घाखाँचीलाई उत्तरतर्फको प्रदेशमा मिलाउनुपर्ने सुझाव पनि दिनुभयो ।
 
मुलुकका सामु धेरै सङ्कटपूर्ण समस्या रहेको चर्चा गर्दै उपप्रधानमन्त्री गच्छदारले सरकारले जनतालाई सुविधा दिनका लागि तत्पर भएर कार्य गरिरहेको जानकारी गराउनुभयो ।
 
सरकारसँग कुनै जादुको छडी नरहेको भन्दै उहाँले कठिन परिस्थितिमा सरकार बनेकाले क्रमिक रूपमा समस्या समाधानका लागि जनताका साथै सबै दलको सहयोग अपरिहार्य रहेको बताउनुभयो । रासस