मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धरान काँग्रेसद्वारा डा महत सम्मानित

धरान काँग्रेसद्वारा डा महत सम्मानित


इटहरी, २६ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतलाई आज नेपाली काँग्रेस धरानले सम्मान गरेको छ । उहाँ पार्टीको तेह्रौँ महाधिवेशन कार्यक्रमका विषयमा छलफल गर्न आज धरान पुग्नुभएको थियो ।
 
नेपाली काँग्रेस सरकारमा रहँदा पटकपटक अर्थमन्त्री रहनुभएका डा महत बेलायतस्थित विश्वप्रसिद्ध फिनान्सियल टाइम्सले प्रकाशन गर्दै आएको “दि बैंकर” ले डा महतलाई एसिया प्रशान्त क्षेत्र र विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेपछि अहिले निकै चर्चामा रहनुभएको छ ।
 
विश्वमा नै चर्चित र विश्वसनीय अर्थमन्त्री भएर कमाएको लोकप्रियताकै कारणले नेपाली काँग्रेस पार्टीले गौरव गर्ने मौका पाएको भन्दै नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिति सुनसरीद्वारा उहाँलाई सम्मान गरेको क्षेत्रीय समितिले बताएको छ । 
 
काँग्रेसले उहाँसँगै पञ्चयातकालदेखि नै निरन्तर सक्रियतापूर्वक पार्टीमा महत्वपूर्ण योगदान दिँदै आएका पाँचकन्या गाउँ सभापति धनबहादुर कटवाल, धरान उपमहानगरका–४ का सभापति ईश्वरीप्रसाद रेग्मी, १३ नं वडाका सभापति कटकबहादुर तामाङ र जनसम्पर्क समिति बेलायतका सल्लाहकार नरकुमारी लिम्बूलाई समेत सम्मान गरेको छ । 
 
सोही अवसरमा काँग्रेस निकट नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले पनि सम्मानित सबैलाई सम्मान गरेको छ । उहाँहरूलाई सङ्घका जिल्ला सभापति नन्दराज राईले दोसल्ला ओढाई सम्मान गरेका हुन् । कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, गोविन्द भट्टराई, गुरुप्रसाद घिमिरे तथा सांसदहरू रामहरि खतिवडा, रामकृष्ण यादव, बहादुरसिंह लामालगायतले बोल्नुभएको थियो ।
 
उहाँहरूले नेपाली काँग्रेस जहिले पनि महामानव बिपी कोइरालाले अघि सार्नुभएको प्रजातान्त्रिक समाजवादबाट मात्र आम नेपाली जनताले मुक्ति पाउने कुरामा विश्वास गर्दै आएको र भविष्यमा पनि सोही सिद्धान्तबाट नेपाली जनताको भाग्य र भविष्य निर्माण हुनसक्ने कुरामा कसैमा दुई मत नरहेको विचार राख्नुभएको थियो ।
 
एक नं क्षेत्रका कार्यबाहक सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला सभापति हरिनाथ बाँस्तोला, पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठ, जिल्ला सहसचिव विकास आचार्य, महासमिति सदस्यद्वय भीष्म काफ्ले, मदन ढकाल, जिल्ला सदस्यहरू उमेश थापा, राम तामाङ, क्षेत्रीय कोषाध्यक्ष चन्द्रशेखर लामाले बोल्नुभएको थियो । रासस