मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसमा तीन प्रदेश निर्माण गर्ने गच्छदारको प्रस्ताव

मधेसमा तीन प्रदेश निर्माण गर्ने गच्छदारको प्रस्ताव


काठमाडौँ, २६ पुस । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाउने र मधेसमा तीन प्रदेश निर्माण गरिए अहिलको समस्या समाधान हुने बताउनुभएको छ ।
 
मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका गच्छदारले आज मन्त्रालयमा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरको छुट्टै प्रदेश निर्माण गरिनुपर्ने तथा पश्चिममा कैलालीको केही भाग टुक्र्याएर बर्दियासँगको प्रदेशमा जोड्नुपर्ने बताउनुभयो ।
 
उहाँले भन्नुभयो– “मैले संविधान निर्माणअघि नै ल्याएको आठ प्रदेशको अवधारणा स्वीकार नगरिएकै कारण अहिले समस्या आएकोे छ, प्रमुख दलका नेता अहिले तपाइँले त्यो बेला ल्याएको प्रस्ताव ठीक रहेछ भन्न थाल्नुभएको छ ।”
 
उहाँले भन्नुभयो– “म पनि मोरङ, सुनसरीको मान्छे हो, ती जिल्ला जनताले दुई नम्बर प्रदेशमा जान चाहेका छैनन्, ती जिल्ला चाहियो भनेर धनुषा र सर्लाहीले आन्दोलन गर्नुको अर्थ छैन ।”
 
उपप्रधानमन्त्री गच्छदारले देश विकासमा सबै पक्षको सहकार्य र एकता आवश्यक रहेको बताउँदै वार्ता र सहमतिबाटै तराई–मधेसको आन्दोलन सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो । 
 
आफूले सधैँ मध्यमार्गी भूमिका खेलिरहेको स्वीकार गर्दै उहाँले त्यसो गर्दा आफ्नो आलोचना भए पनि नडराउने प्रष्ट पार्नुभयो ।
 
अर्को प्रसङ्गमा उहाँले सरकार निर्माणका क्रममा सत्तारुढ दलसँग आफ्नो पार्टीका तर्फबाट भएका आठबुँदे सम्झौतामध्ये सीमाङ्कनबाहेक अन्य बुँदा कार्यान्वयनका क्रममा गइसकेकोे जानकारी दिनुभयो ।
 
अहिलको समस्या यो सरकार निर्माणपछिको समस्या नभएर पहिलेकै समस्या भएको बताउँदै उहाँले आफ्नो पार्टी सरकारबाट बाहिरिने कुनै सम्भावना नभएको स्पष्ट पार्नुभयो । 
 
मोदीलाई ऋषि मन बनाउन आग्रह
 
उपप्रधानमन्त्री गच्छदारले अहिले भारतबाट आपूर्तिमा देखिएको असहजताका कारण नेपालीले कठिनाइ भोग्नुपरेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऋषि मन बनाएर नेपाललाई सहयोग गर्न आग्रह गर्नुभयो ।
 
उहाँले भन्नुभयो– “नेपालमा मोदी आउँदा नेताहरूलाई ऋषि मन बनाउनुपर्छ भन्नुभएको थियो, अहिले मोदीजीलाई ऋषि मन बनाउन मेरो आग्रह पु¥याइदिन सञ्चारकर्मीलाई आग्रह गर्दछु । ”
 
उहाँले भारतजस्तो ठूलो देशले छिमेकी देशलाई ठूलै हृदय बनाएर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले चीन र भारतसँग नेपालले समदुरीको सम्बन्ध राखेर अगाडि बढ्नुको विकल्प नभएकामा समेत जोड दिनुभयो । रासस