मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कूटनीतिक असफलताका कारण भारतीय नाकाबन्दी : परराष्ट्रविद् पाण्डे

कूटनीतिक असफलताका कारण भारतीय नाकाबन्दी : परराष्ट्रविद् पाण्डे


चितवन, २६ पुस । पूर्वपराराष्ट्र मन्त्री तथा परराष्ट्रविद् रमेशनाथ पाण्डेले अहिले देशमा देखिएको नाकाबन्दी र तराई आन्दोलनको समस्या देशको कुटनीतिक असफलता भएको बताएका छन् ।

पाण्डेको नयाँ पुस्तक ‘कुटनीति र राजनीति’माथि कविडाँडा साहित्य समाजले गरेको अन्तक्र्रिया तथा साक्षात्कार कार्यक्रममा उनले मधेसको आन्दोलन कुनै समस्या नै नभए पनि कुटनीतिकरुपबाट नेपालले भारतलाई स्पष्ट पार्न नसकेको बताए ।

‘चाहे २०२७, २०४५ र २०७२ गरेर पटकपटक देशमा भएका भारतको नाकाबन्दी भारतको हेपाहा प्रवृत्तिको कारणले भएको हो’ उनले भने, ‘जुन समय नेपाल सरकारले देशको राजनीतिलाई आफ्नो हातमा लिन खोज्छ तब भारतको टाउको दुख्छ ।’

अहिलेको संविधान निर्माणपछि देखिएको समस्या पनि नेपाली नेताहरुको कुटनीतिक असफलता भएको बताउँदै पूर्वमन्त्री पाण्डेले नेताहरु राजनीति गर्न सफल भए पनि कुटनीतिमा असफल भएको बताए । एक दुई दिन संविधान जारी गर्न ढिला गरेर भए पनि भविष्यमा आउन सक्ने समस्यालाई नेताहरुले राम्रोसँग बुझेको भए अहिलेको समस्या नै नआउने उनले दाबी गरे ।

देशको हरेक राजनीतिक परिवर्तनमा भारतले आफ्नो समर्थन खोज्दै आएकोले अहिलेको संविधान निर्माण प्रक्रियामा पनि उसले सल्लाह दिन खोज्नु खासै नौलो नभएको पूर्वमन्त्री पाण्डेले बताए ।

तीन दलका शीर्ष दलका नेताहरु संविधान जारी गरेपछि दक्षिणतिरबाट प्रतिक्रिया के आउँछ भनेर मूल्यांकन गर्न नसक्नु नै कमजोरी भएको उनको भनाइ थियो । कार्यक्रममा सहभागी बुद्धिजीवीको जिज्ञासाहरुको जवाफ दिँदै उनले भने,‘विश्वभर स्वतस्फूर्तरुपमा नाकाबन्दीविरूद्ध निस्किएका जुलुस ओली सरकारको लोकप्रियताले नभई देशभक्तिपूर्ण भावनाले भएको हो ।’

हामीले आफ्नो राष्ट्रिय स्वार्थअनुसार विदेश नीतिलाई निर्देशित गर्न नसकेर नै विकासमा असफल हुनु परेकोे भन्दै उनले नेपाली नेताले नेपाली जनताको तागतमा विश्वास नगरी भारतको पछि लाग्नु ठीक नभएको बताए । अब रसुवागढीसम्म रेल दगुर्ने वातावरण निर्माण गरेर देशको अर्थतन्त्रलाई चलयमान बनाउन सकेमा नेपालको बार्गेनिङ शक्ति बढ्ने उनले बताए ।

नेताहरुको अदूरदर्शिताले गर्दा नेपालको इतिहास र भूगोल दुबै अहिले जोखिममा परेको पूर्वमन्त्री पाण्डेको भनाइ छ । सरकार बनाउन, सरकार ढलाउनदेखि सबै विषयमा विदेशी मुक ताक्ने प्रवृत्तिको अन्त्य गरेर विगतका गल्तीहरुबाट जोगाउन सकेमा देश अहिलेको समस्याबाट अन्त्य हुने उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थित प्राध्यापकहरु तथा साहित्यकारहरुले परराष्ट्रविद पाण्डेलाई दरबार हत्याकाण्डदेखि राजतन्त्रको पतन सम्मलाई किन रोक्न नसकेको भनेर प्रश्न राखेका थिए । प्रश्नको जवाफ दिँदै उनले कूटनीतिज्ञको जिम्मेवारी सल्लाह दिनेमात्र भएकोले त्यस्ता गम्भीर घटनाबाट आफूले देशलाई रोक्न नसकेको र पूर्वराजाले पनि आफ्नो सल्लाह नमानेको बताए ।

अन्तक्र्रियामा वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले ६ जना उपप्रधानमन्त्री बनाएर देशले नेता पायो तर देशलाई सही निर्देशन गर्न सक्ने राजनीतिज्ञ नपाएको बताए । कार्यक्रममा शिक्षाविद् प्राध्यापक रमाकान्त सापकोटा, शिक्षक संघकी पूर्वउपाध्यक्ष इन्दिरा सापकोटा, प्राध्यापक विनोद खण्ड तिमिल्सिना, प्राध्यापक राम लोहनीले पूर्वमन्त्री पाण्डेको पुस्तक‘कुटनीति र राजनीतिबारे समालोचनात्मक टिप्पणी राखेका थिए ।

कार्यक्रम कविडाँडा सहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको अध्यक्षतामा भएको थियो ।