मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मदन भण्डारी ट्रमा सेन्टर सञ्चालनमा ल्याइने

मदन भण्डारी ट्रमा सेन्टर सञ्चालनमा ल्याइने


चितवन, २४ पुस । प्रमुख राजमार्ग जोडिएकाले अत्यधिक दुर्घटनाका घाइते उपचार गर्नुपर्ने चितवनको भरतपुरमा मदन भण्डारी ट्रमा सेन्टर सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ । 
 
राजधानी र देशका मुख्य सहर प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग जोडिएको चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा ट्रमा सेन्टर निर्माणका लागि यस वर्षको बजेटमा बजेट विनियोजन गरिएको थियो । 
 
बजेटमा रु तीन करोड रकम छुट्याइएकोमा भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टरका लागि रु दुई करोड र बागलुङको धौलागिरि अञ्चल अस्पतालमा निर्माण गरिने हरि खड्का ट्रमा सेन्टरका लागि रु एक करोड स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको छ । 
 
भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा केशवराज भुर्तेलले यस वर्षको बजेटमा पारिएको सो रकमबाट अस्पतालको ‘ए ब्लक’को भुइँतलामा अत्याधुनिक हाडजोर्नी कक्ष निर्माण गरिने बताए । 
 
सो विभागमा हाल ३० श्यया सञ्चालनमा छन् । अब ५० श्ययाको व्यवस्थित ट्रमा सेन्टर निर्माण गरिने उनले बताए । पहिलो चरणमा सो कक्षमा अक्सिजनको पाइपलाइन विस्तार गरी अति आवश्यक उपकरणहरूको जडानको प्रक्रिया सुरू भएको उनले बताए । माघ महिनासम्ममा ट्रमा सेन्टर सञ्चालनको तयारीमा अस्पताल जुटेको छ ।
 
दीर्घकालीन रूपमा झन्डै रु ३० करोडको लागतमा निर्माण गर्ने योजनामा रहेको सी ब्लकलाई डाइग्नोस्टिक तथा ट्रमा भवनका रूपमा विकास गरी सोही भवनमा मदन भण्डारी ट्रमा सेन्टर बनाइने अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले बताए । 
 
हाल अस्पतालमा सिटिस्क्यान नभएकाले त्यसको व्यवस्थापनका लागि पनि गृहकार्य भइरहेको उनले बताए । ट्रमा सेन्टरमा न्युरोसम्बन्धीसमेत सुविधा आवश्यक पर्ने भएपनि त्यससम्बन्धी उपकरण र जनशक्तिको अभावमा तत्काल सुविधा प्रदान गर्न नसकिने अस्पतालले जनाएको छ । 
 
चितवन हुँदै राजधानी प्रवेश गर्ने र बाहिरिने ठूला साना र लामो एवम् छोटो दूरीका धेरै सवारीका साधन गुड्ने गर्छन् । यकिन तथ्याङ्क नभए पनि करिब पाँच हजार सवारी साधन चितवन हुँदै दैनिक आवतजावत गर्ने अनुमान छ जसका कारण धेरै सङ्ख्यामा दुर्घटना हँुदै आएको छ । 
 
गत आवमा मात्र चितवनमा १२६ वटा ठूला दुर्घटना भएका थिए । प्रहरीको तथ्याङ्कअनुसार दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको थियो भने २५७ जना घाइते भएका थिए । सानातिना दुर्घटना र घाइतेको सङ्ख्या अरू बढिरहेको छ । ती घाइतेको उपचारलाई लक्षित गरेर सरकारले भरतपुर अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर निर्माण गर्न लागेको हो । 
 
नेता मदन भण्डारीको चितवनको दासढुङ्गामा २२ बर्ष अगाडि रहस्यमय सवारी दुर्घटनामा परी निधन भएको थियो । अस्पतालमा हाल ४३५ श्यया सञ्चालनमा छन् भने छिट्टै ६०० श्यया हुँदैछ । 
अस्पतालमा चितवनसहित छिमेकी जिल्लाबाट बर्सेनि बहिरङ्गबाट एक लाख ५० हजार, भर्ना भएर ५० हजार र आकस्मिकबाट ४० हजार बिरामीले सेवा लिँदै आएका छन् जसमध्ये गत वर्ष छ हजार ३०० जनाको ठूला शल्यक्रिया गरिएको थियो । रासस