मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसमा जारी आन्दोलनमा आर्थिक चलखेल

मधेसमा जारी आन्दोलनमा आर्थिक चलखेल


नवलपरासी, १७ पुस । मधेसमा जारी आन्दोलनमा आर्थिक चलखेल भएको खुलासा भएको छ । मोर्चाका कार्यकर्ताहरुबाटै यस्तो खुलासा भएको हो ।

आन्दोलनको बेला आर्थिक प्रलोभनमा परेको भन्दै मोर्चाका क्षेत्र नंं ६ का क्षेत्रीय संयोजकले आफ्नो पदबाट राजीनामा दिएपछि यस्तो खुलासा भएको हो । मधेसी थरूहट लोकतान्त्रिक मोर्चाका जिल्ला नेताहरुले आर्थिक प्रलोभनमा परी आन्दोलनमा ट्रक सञ्चालन गर्न दिएको भन्दै मधेसी थरूहट लोकतान्त्रिक मोर्चा क्षेत्र नं ६ का संयोजक रामअवतार कोइरीले मोर्चाको संयोजक पदबाट राजीनामा दिएका छन् ।

मोर्चाका नेताहरुले प्रलोभनमा परी सुगर मिलका ट्रक सञ्चालन गर्न दिएको भन्दै कोइरीले विज्ञप्ति जारी गर्दै मोर्चाबाट राजीनामा दिएको बताए । उनले बिहीबार जारी गरेको विज्ञप्तिमा मोर्चाले आन्दोलन रोक्ने र मिलोमतोमा ट्रक सञ्चालन गर्न दिने गरेको जनाइएको छ ।

कोइरी तराई मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । कोइरीले यस्तै अवस्था रहे पार्टीबाट समेत राजीनामा दिन सक्ने विज्ञप्तिमा जनाएका छन् । मोर्चाका कार्यकर्ताहरुले कालो बजारी रोक्ने भन्दै कतै सवारी साधन तोडफोड र कतै आगजनी गरे पनि कतिपयले अझै कालोबजारीका लागि भारतबाट नेपाल ल्याएको इन्धन नेपाल भित्र्याउन दिएबापत रकम लिने गर्दछन् ।

त्यस्तै,सशस्त्र प्रहरी र प्रहरीहरुले विभिन्न चेकिङ प्वाइन्टमा समेत कालोबजारीका लागि ल्याएको इन्धनबाट पैसा असुल्ने गरेको स्वयम् कालोबजारीमा संलग्न व्यापारीहरुले बताउने गरेका छन् ।

विद्यालय, अस्पताललगायत अति आवश्यक कामका लागि ल्याएको इन्धनमा समेत मोर्चाका कार्यकर्ता र प्रहरी पैसा असुल्ने गरेको उनीहरुले बताए । बजार खुल्यो चार महिनादेखि बन्द रहेको सदरमुकाम परासीसहित दक्षिणी भेगका बजार र यातायात सेवा बिहीबारदेखि सञ्चालनमा आएका छन् ।

मधेसी मार्चाले सर्वसाधारणको समस्यालाई दृष्टिगत गरी बन्दलाई खुकुलो पारेपछि लामो समयदेखि बन्द रहेका बजार र यातायातका सवारी साधन सञ्चालनमा आएका हुन् । बन्द खुकुलो भएसँगै मुख्य बजार बेलाटारी, जमुनिया, महेशपुरसहित अधिकांश दक्षिण क्षेत्रका बजार, उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था र यातायात सञ्चालनमा आएका छन् ।

बन्द खुकुलो भई बजार र यातायात सञ्चालनमा आएपछि सर्वसाधारणले केही भए पनि राहतको महसुस गर्न थालेका छन् । यद्यपि मोर्चाले नाका केन्द्रित आन्दोलन भने जारी राख्ने बताएको छ । मोर्चाले नवलपरासीमा मौलाउँदै गएको पेट्रोलियम पदार्थको कलोबजारी रोक्ने अभियान चलाएको जनाएको छ ।

जारी संविधानप्रति असहमति जनाएको मोर्चाले चार महिनादेखि परासीसहित सबै ग्रामीण क्षेत्रमा बजार, उद्योग, कालकारखाना र यातायात बन्द गराउँदै आएको थियो ।