मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, भारत भ्रमणको निम्तो

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, भारत भ्रमणको निम्तो


काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा आज टेलिफोन वार्ता भएको छ ।
 
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग सम्बोधन गर्न नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको विधेयकलाई भारत सरकारले स्वागत गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो । 
 
करिब २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अङ्ग्रेजी नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदानसमेत गर्नुभएको थियो । 
 
प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । 
 
प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकामा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतका तर्फबाट कुनै रोकतोक नभएको बताउनुभयो । 
 
भारतका प्रधानमन्त्री मोदीले रक्सौल–वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको जानकारी दिँदै नेपालकै राजनीतिक दलले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको बताउनुभयो । प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुषमा स्वराजलाई एयरलिफ्ट गरेर भए पनि औषधि आपूर्ति गर्न भनेको स्मरण गराउनुभएको थियो । 
 
दुई नेताबीच द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभयो । प्रधानमन्त्री ओलीले छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने वचन दिनुभएको थियो । रासस