मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेस आन्दोलनले लालगढ अस्पतालको सेवा प्रभावित

मधेस आन्दोलनले लालगढ अस्पतालको सेवा प्रभावित


जनकपुरधाम, १६ पुस । मधेसमा जारी रहेको आन्दोलनको कारणले गर्दा अहिले लालगढ कुष्ठ अस्पतालको सेवा नै प्रभावित भएको छ । 
 
यातायात नचलेका कारणले बिरामी अस्पतालसम्म आउन सकेका छैनन् । बन्द हडतालका कारण अस्पतालमा इन्धनलगायतका सामानको अभाव सिर्जना भएपछि अस्पतालमा आउने गरेका बिरामीलाई समस्या भइरहेको छ भने बाहिरबाट बिरामी आउनसमेत  निकै सकस हुने गरेको छ । मधेसमा जारी रहेको अधिकार प्राप्तिको आन्दोलन झन्डै पाँच महिना बितिसक्दा पनि राजनीतिक मुद्दा सम्बोधन हुननसकेकाले तराईवासीको जनजीवन निकै कष्टपूर्ण भएको छ । 
 
तराई बन्द रहेका कारण यातायात नचल्नाले धनुषा राजमार्गमा रहेको लालगढ कुष्ठ अस्पतालमा आउने बिरामीको सङ्ख्यामा कमी आएको छ भने आएका बिरामीलाई पनि अस्पतालमा आवश्यक सामान अभावकाकारण सेवा सञ्चालनमा समेत समस्या आउने गरेको छ । 
 
अक्सिजन र औषधिको आपूर्ति ठप्प हुँदा उपचाररत कुष्ठरोगीको उपचारमा समस्या परेको हो । अस्पतालका कार्यकारी निर्देशक डम्बरबहादुर आलेका अनुसार मुख्यतः अक्सिजन र औषधि सकिएकाले समस्या भएको हो जसका कारण कुष्ठरोग लागेर क्षति भएका अङ्गको शल्यक्रिया ‘रिकन्सट्रक्सन सर्जरी’ हुनसकेको छैन ।
 
‘सर्जरी हुन नसक्दा बिरामीमा अपाङ्गताको जोखिम बढेको छ’ आलेले चिन्ता व्यक्त गर्नुभयो ।  ‘अङ्गभङ्ग र अन्धोपन हुनसक्ने खतरा पनि उत्तिकै छ,’ उहाँले भन्नुभयो ।
 
अस्पतालले जाडो मौसम लागेपछि निःशुल्क सर्जरी सेवा प्रदान गर्दैआएको छ । यस्ता सर्जरी गर्नुपर्ने पाँचदर्जन रोगी प्रतिक्षामा रहेको अस्पतालले जनाएको छ ।
 
अस्पतालमा उपचारका लागि आउने गरिएका बिरामीलाई कुष्ठ भइरहेको छ भने इन्धन अभावका कारणले गर्दा अस्पतालका सवारीसाधन समेत चल्न सकेका छैनन् । आलेले कुष्ठरोग प्रभावित व्यक्ति अस्पताल आउन नसक्दा पछि गएर निकै घाउ हुने र समस्या हुने अवस्था देखिएको बताउनुभयो ।
 
उहा“ले कतिपय बिरामीलाई औषधिले निको हुने गरेका कारणले तुरुन्त अस्पताल आएनन् भने केही दिनमा घाउ निको हुने र त्यो पूर्णरूपमा निको नहुने समस्या आउने गरेका कारणले यस्ता बिरामीलाई समस्या आउने गरेको आलेले बताउनुभयो ।
 
इन्धन अभावका कारणले बिरामीलाई शल्यक्रिया गराउनमा समेत समस्या आउने गरेकाले अहिले अस्पतालको सेवा नै अस्तव्यस्त बनेको छ । कुष्ठरोग विषयमा गाउँगाउँमा गएर जनचेतना जगाउने कामसमेत प्रभावित भएको अस्पतालले जनाएको छ । 
 
छालामा समस्या देखिएपछि लालगढ अस्पतालमा उपचार गराउन आएकी सिरहाकी रामकुमारी कापरले आफनो सकसपूर्ण यातना सुनाउँदै भनिन्–यातायात चलेको छैन । मोटरसाइकलमा आउँदा कुनबेला आन्दोलनकारीले कहाँ तोडफोड गर्ने हो भन्ने समस्याले आफूलाई निकै चिन्तित बनाएको बताइन् । उनले चारसय रुपैयाको तेल हालेर आएको र उपचार गराएर फर्कि“दा जान समस्या भएको बताइन् । 
 
अस्पतालमा तीनसयको हाराहारीमा आउने गरेका बिरामीको सङ्ख्यामा अहिले निकै कमी आएको छ ।  अस्पतालमा उपचार गराइरहेका बिरामीलाई घर कसरी जाने भन्ने समस्याले पिरोलेको हुन्छ । मधेसमा जारी रहेको आन्दोलनका कारण अस्पतालमा उपचार गराएका बिरामीलाई निकै समस्या भइरहेको छ । अस्पतालले अहिलेसम्म करिब ३४ हजार कुष्ठ रोगीको उपचार गरिसकेको छ । 
 
मधेसमा जारी रहेको आन्दोलनको झन्डै पाँच महिना हुनलाग्दा समेत समस्याको निकास ननिस्किएकाले तराईको जनजीवन कष्टकर बनेको छ भने अत्यावश्यक सेवाको रूपमा रहेको अस्पतालसमेत प्रभावित भएको छ । यस विषयमा समयमै सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यकता रहेको छ । रासस