मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमाङ्कनका मुद्दा थाती राखेर अघि बढ्नुपर्छ : नेता नेपाल

सीमाङ्कनका मुद्दा थाती राखेर अघि बढ्नुपर्छ : नेता नेपाल


काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमाङ्कनका विषयमा आएका अलग/अलग रायलाई सम्बोधन गर्न केही समय लाग्ने बताउनुभएको छ ।
 
तराई मधेसमा जारी आन्दोलनका विषयमा रिपोर्टर्स क्लबको आज ज्ञापनपत्र बुझेपछि उहाँले सीमाङ्कनको विषय तीन महिनाका लागि थाती राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 
 
नेता नेपालले भन्नुभयो, “जनताको भावना र धारणा बुझेर सीमाङ्कनको मुद्दा टुङ्गो लगाउनुपर्छ, त्यसका लागि समय लाग्छ, उच्चस्तरीय समिति बनाएर टुङ्ग्याउने सिलसिलामा जानुपर्छ, तर सहमति गर्न ढिला गर्नुभएन ।” 
 
मधेसी मोर्चाले सीमाङ्कनका विषयमा लचिलो भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले मधेसी मोर्चाले मेरो गोरुको बाह्रै टक्का भनेर हठ गर्न नहुने बताउनुभयो । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा नेकपा (एमाले) विपक्षमा नरहेको स्पष्ट पार्दै उहाँले यस विषयमा ठीक सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 
 
भारतीय नाकाबन्दीले मुलुक आर्थिकरुपमा ठूलो समस्यामा परेको बताउँदै उहाँले विद्यमान समस्या छिटो टुङ्ग्याउनु सबैको हितमा हुने उल्लेख गर्नुभयो । नाकाबन्दीका कारण मुलुकमा भारत विरोधी भावना बढ्नु दुवै देशको हितको पक्षमा नभएको उल्लेख गर्दै नेता नेपालले भन्नुभयो, “भारतले पनि नेपाललाई खण्ड÷खण्डमा बुझ्नु भएन, परम्परागत सम्बन्धलाई समधुर बनाउनुपर्छ ।”
 
सरकारको काम कारबाही प्रभावकारी नभएको भन्ने जनगुनासो आएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । नेता नेपालले सबै पक्षका गुनासा सुनेर प्रधानमन्त्रीले समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई आश्वासनभन्दा पनि ठोस नतिजा दिनुपर्छ, अहिले त्यो पुगेन ।”
 
सबैलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिँदै नेता नेपालले मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनले सिङ्गो मुलुकलाई प्रतिकूल असर पारेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान आफँैमा समावेशी भएपनि केही मनोवैज्ञानिक दूरीलाई सम्बोधन गर्नका लागि लचिलो भएर अगाडि बढ्न सकिने बताउनुभयो । 
 
नेता नेपालले भन्नुभयो, “मधेसी जनताको भावनाको कदर गर्ने, मधेसी जनताको पक्षमा दृढताका साथ उभिने मान्यता लिएको अगाडि बढेको नेकपा (एमाले) सधैँभरि जनताको पक्षमा छ भन्ने यहाँ जोडदाररुपमा दोहो¥याउन चाहन्छु । मधेसविरोधी भनेर नेकपा (एमाले)लाई कसैले भन्छ भने त्यसमा कुनै तुक छैन ।” 
 
उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)ले मधेसमा सबैभन्दा जनताको विश्वास जितेकाले यस अर्थमा यी मुख्य पार्टीले मधेसको हितमा कुठाराघात नगरेको स्पष्ट पार्नुभयो । रासस