मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अत्यधिक चिसोबाट पाँच दर्जन बालबालिका बिरामी

अत्यधिक चिसोबाट पाँच दर्जन बालबालिका बिरामी


कञ्चनपुर, ११ पुस । अत्यधिक चिसोबाट कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षको तारापुर क्षेत्रमा बस्दै आएका आरक्ष विस्थापितका पाँच दर्जन बालबालिका बिरामी परेका छन् ।
 
तारापुर क्षेत्रमा शिविर खडा गरेर बस्दै आएका परिवारका बालबालिका ओढ्ने, बिछ्याउने र लगाउने कपडाको अभावमा बिरामी परेका हुन् ।
 
  बालबालिकामा ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने, जोर्नी दुख्ने र बेहोस हुनेलगायतको समस्या रहेको आरक्ष विस्थापित नरिभान ढुङ्गालले बताउनुभयो ।
 
  शिविरमा बस्नका लागि बनाइएको झोपडीको छाना राख्नका लागि खर ल्याउन नदिइए पछि खुला आकासमुनि बस्नु परेकाले बालबालिका चिसोबाट प्रभावित भई धमाधम बिरामी पर्न थालेका छन् उहाँले भन्नुभयो, “आरक्ष क्षेत्रबाट विगतमा खर ल्याएर छाना छाउँदै आए पनि यस वर्ष आरक्षका सुरक्षाकर्मीले खर ल्याउन नदिँदा छानाबिनाको झोपडीमा बस्नुपरेको छ ।” 
 
गत वर्ष खरले छाएका झोपडीका अधिकांशका छाना कुहिएर खसेकाले समस्यामा परेको प्रेमबहादुर महराले बताउनुभयो । दाउरा ल्याउनसमेत प्रतिबन्ध लगाइएकाले झनै समस्यामा परेको उहाँले दुखेसो पोख्नुभयो ।
 
आफ्ना तीन जना बालबालिका चिसोबाट प्रभावित भई बिरामी परेपछि चार दिनदेखि विद्यालयसमेत पठाउन नसकिएको उहाँले बताउनुभयो ।
 
  “बालबालिकालाई उपचार गर्नका लागि स्वास्थ्य चौकीमा औषधि नभएको र निजी मेडिकलमा उपचार गर्नका लागि आर्थिक अभाव हुँदा उपचार बिनानै बालबालिकालाई शिविरमा राखेका छौँ” तारादेवी अवस्थीले भन्नुभयो ।
 
  आकासबाट खसेको पूरै शीत झोपडीभित्र पसेर भएका लत्ताकपडा सबै निथु्रक्क भिजाउने भएकाले बालबालिकालाई न्यानो पार्न नसक्दा बिरामीको चपेटामा पर्दै गएको विस्थापित परिवारको भनाइ रहेको छ ।
 
विसं २०५९ मा आरक्षको विस्तारित क्षेत्रबाट ती परिवारलाई हटाइए पनि बस्ने व्यवस्था नभएको भन्दै २०६६ सालदेखि १३० परिवार सोही ठाउँमा फर्केर बस्दै आएका छन् । रासस