हिमालय खबर संबाददाता, अमेरिका । इसाई (क्रिश्चियन) धर्मालम्बीहरुको ठूलो पर्व क्रिशमस पर्व केही वर्षयता विश्वव्यापीकरण हुँदै आएको छ । यसै क्रममा संसारकै शक्तिशाली र सुविधासम्पन्न मानिने अमेरिकामा रहेका नेपालीहरुले यो पर्वलाई विशेष रुपमा मनाउँदै छन् ।
अमेरिकामा क्रिशमसको अवसरमा सम्पूर्ण सरकारी एवं निजी क्षेत्रका व्यबसायहरु समेत बन्द हुने गर्छन । यो मौकाको फाइदा उठाउँदै नेपालीहरुले यो पर्वलाई केही वर्षयता आएर विशेष रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई नेपालीहरुले आफ्नो व्यस्तताको बीच पनि साथीभाई भेटघाटको अवसर, मनोरञ्जनको दिनको रुपमा मनाउन थालेका छन् ।


इसाइ धर्मका प्रवर्तक जिसस क्राइष्टको जन्मदिनलाई इसाई धर्म मान्नेहरुले विशेष रुपमा संसारभरि मनाउने गर्छन । "अत्यन्तै खुशी र सौहार्दका साथ खुशीको साथ हामीले पनि यो पर्वलाई मनाइरहेका छौं"– नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले भन्नुभयो । उहाँले अगाडि थप्नुभयो– "हामी हिन्दू भएपनि कर्मभूमि अमेरिकामा रहेका हुँदा सबैले मनाइरहेको हुँदा हामीले पनि खुशीसाथ यो पर्वलाई लिएका छौं ।"
नेपाली समाज टेक्ससका नव निर्वाचित अध्यक्ष कृष्ण लामिछानेले यो पर्वको अवसरमा नेपाली र सबै इसाई
धर्मावलम्बीहरुलाई शूभकामना दिनुभएको छ । उहाँका अनुसार अधिकांश नेपालीहरु हिन्दू भएपनि सबै धर्मलाई सम्मान गर्ने, धर्मसहिष्णुताको पक्षमा रहेको हुँदा यो पर्वलाई अमेरिकामा रहेका नेपालीहरुले पनि विशेष रुपमा मनाउन थालेका छन् । यो पर्व र नयाँ बर्ष २०१६ ले मातृभूमि नेपालको समस्या समाधान, शान्ति हुने, नाकावन्दी हट्ने अपेक्षा पनि गर्नुभएको छ ।



यो पर्वलाई नेपालीहरुले अमेरिकामै पनि टाढा टाढा रहेका आफन्तहरुबीच भेटघाटका गर्ने, बिदा मनाउने अवसरका रुपमा लिने गरेका छन् । ड्यालसको
युलेसमा लामो समयदेखि बसोबास गर्दै आउनुभएका टीका पौडेलले अमेरिकी समाजमा घुलमिल हुन र बालबालिकालाई संस्कार सिकाउन पनि नेपालीहरुले यो पर्वलाई पनि आफ्नै जसरी स्विकार गरिसकेको बताउनुभयो । “वल्लोघर र पल्लोघरमा झिलिमिली बत्ति बलेपछि बच्चाहरुले आफ्नो घरमा पनि त्यस्तै गर्न आग्रह गरेको हुँदा पनि क्रिशमसलाई नेपाली समाजले मनाउन थालेका हुन्" पौडेलले भन्नुभयो । उहाँले यही अवसरमा नेपाली समुदायलाई बोलाएर शूभकामना आदान प्रदान कार्यक्रम समेत राख्नुभएको छ ।

प्रतिक्रिया