मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसले दृढतापूर्वक संविधानको कार्यान्वयन गर्छ : उपसभापति पौडेल

काँग्रेसले दृढतापूर्वक संविधानको कार्यान्वयन गर्छ : उपसभापति पौडेल


पोखरा, १० पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो नेतृत्वको सरकारले बनाएको नेपालको नयाँ संविधानलाई काँग्रेसले दृढतापूर्वक कार्यान्वयन गर्ने बताउनुभएको छ ।
 
नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको समृद्धि र विकासका लागि लोकतन्त्रका पक्षमा २००७ सालदेखि अनवरत सङ्घर्षरत काँग्रेस संविधानको सफल कार्यान्वयनका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
 
लोकतान्त्रिक समाजवादले परिकल्पना गरेका विषयलाई नयाँ संविधानले सम्बोधन गरेको बताउँदै उहाँले काँग्रेसले आफ्नो स्थापनाकालदेखि समाजिक भेद्भाव र विसङ्गतिका विरुद्धमा गरेको सङ्घर्षकै जगमा राष्ट्रले नयाँ संविधान प्राप्त गरेको बताउनुभयो ।
 
“मधेसी समुदायसहित राज्यका प्रत्येक वर्ग र समुदायलाई एकसाथ अघि बढाउने पक्षमा काँग्रेस छ”–उहाँले भन्नुभयो, “मधेसका समस्यालाई राजनीतिक रुपमा समाधान गर्न हामी मधेसका राजनीतिक दलसँग निरन्तर संवादमा छौँ, मधेसलाई सँगै समेटेर लैजानुपर्छ ।”
 
वर्तमान सरकार संविधानलाई मिचेर दलीय भागबन्डाका नाममा राष्ट्रलाई भार पार्ने तवरले मन्त्रालयको सङ्ख्या थप्दै जम्बो मन्त्रिमण्डल  बताउँदैछ, यो सरकार अन्य कुनै कारणबाट नभई आफ्नै कारणबाट ढल्ने भएको उल्लेख गनुभयो ।
 
पार्टीलाई दरिलो बनाउन काँग्रेसको आसन्न महाधिवेशनमा कार्यकर्ताले सही र सक्षम नेतृत्वको चयन गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यमान ६० र ४० को भागबण्डालाई यही महाधिवेशनले अन्त्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा आगामी नेपाल बार एसोसिएसनमा डेमोक्रयाट्रिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षलगायत विभिन्न पदाधिकारीमा उम्मेदवारीका इच्छा व्यक्त गरेका वरिष्ठ अधिवक्ता एवम् कानुन व्यवसायी शेरबहादुर केसी, यदुनाथ खनाल, रामकुमार श्रेष्ठ, माधव बास्कोटा, दिनेश त्रिपाठी, कैलाश ज्ञवाली, सीताराम केसी, महेन्द्र पाण्डे, बाबुराम पाण्डेलगायतले आगमी बारको निर्वाचनमा डेमोक्रयाट्रिक लयर्स एसोसिएसनमा आबद्ध कानुन व्यवसायी एकताबद्ध रुपमा सङ्गठित हुँदै निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभयो ।
 
उहाँहरूले लोकतन्त्रका पक्षमा सङ्घर्षरत पार्टीका रुपमा नेपाली काँग्रेसले राष्ट्रका विद्यमान समस्याको समाधान गर्दै नयाँ संविधानको कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस