मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस बैठकमा महाधिवेशनको तयारीसम्बन्धी छलफल जारी

काँग्रेस बैठकमा महाधिवेशनको तयारीसम्बन्धी छलफल जारी


काठमाडौँ, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आसन्न १३औँ महाधिवेशनको तयारीका सम्बन्धमा छलफल जारी छ ।
 
बैठक काँग्रेस क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवादलाई कसरी सुल्झाउने भन्नेमा केन्द्रित रहेको छ । आजको बैठकमा पनि बोल्ने अधिकांश सदस्यले क्रियाशील सदस्यता वितरणको पारदर्शिता, मापदण्डका विषयमा प्रश्न उठाउँदै पुनरवलोकन गरिनुपर्ने धारणा राखेका छन् भने केही सदस्यले त्यसको बचाउ गरेका छन् ।
 
बुधबारदेखि पार्टीको जारी बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि भएको छलफलमा नेताबीच बहस चलिरहेको छ ।
 
केन्द्रीय सदस्य गुरुराज घिमिरेले जारी बैठकमा केहीले छानबिन प्रतिवेदनलाई जस्ताको तस्तै पारित गर्नुपर्ने धारणा राखेका र अधिकांशले प्रतिवेदनमा देखिएका कमजोरीलाई सच्याएर जानुपर्ने माग गरेको बताउनुभयो ।
 
पार्टीको विधानअनुसार क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा त्यसो नभई आफू अनुकूल पार्टीको विधान संरचनाभन्दा बाहिर गएर सदस्यता बढाएको नेताहरूको आरोप छ । 
 
काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले जारी केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता वितरणमाथिको छलफल जारी रहेकाले बैठक आइतबार बिहान ११ बजे पुनःबस्ने गरी स्थगन भएको राससलाई जानकारी दिनुभयो ।
 
बैठकमा पेस भएको प्रतिवेदनानुसार काँग्रेसमा पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् ।
 
पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा जारी बैठकमा आज केन्द्रीय सदस्य बलबहादुर केसी, डा प्रकाशशरण महत, डा शेखर कोइराला, कृष्णचन्द्र नेपाली, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, पार्वता डिसी चौधरी, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य भोला चौधरीले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रासस