मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसी मोर्चाद्वारा वार्ता औचित्यहीन भएको ठहर

मधेसी मोर्चाद्वारा वार्ता औचित्यहीन भएको ठहर


काठमाडौँ, ४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको हलुकापनले निष्कर्षको सम्भावना क्षीण भई वार्ता औचित्यहीन बन्न पुगेको ठहर गरेको छ । 
 
मोर्चाको बैठकले सरकार आफ्ना मागप्रति गम्भीर नदेखिएको भन्दै जारी आन्दोलनलाई थप सशक्त बनाउन विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
 
मोर्चाद्वारा आज जारी विज्ञप्तिमा वार्ता र संवादबाट मधेसी आदिवासी, थारु, दलित, सीमान्तकृत समुदायको मुद्दाको सम्बोधनप्रति सरकारको स्पष्ट दृष्टिकोणको अभावले गर्दा वार्ता परिणाममुखी हुन नसकेको बताइएको छ ।
 
सरकार र नेपाली काँग्रेसले संयुक्त रुपमा व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावले विगतमा प्रयोग भइसकेको समावेशीकरणको मान्यतालाई विकृत बनाई एकात्मक राज्यलाई निरन्तरता दिने काम गरेको आरोप लगाउँदै मोर्चाले उक्त संशोधनको प्रस्ताव आफूलाई मान्य नहुने जनाएको छ ।
 
बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अब आफूहरू आन्दोलनलाई सशक्त बनाउन तराई मधेस जाने भएकाले सरकारले वार्ता गर्न चाहे मधेसमा नै आउनुपर्ने बताउनुभयो । रासस