मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जानकी मन्दिरको अस्तित्वप्रति चिन्ता

जानकी मन्दिरको अस्तित्वप्रति चिन्ता


जनकपुरधाम, ४ पुस । सीताराम विवाह महोत्सवका दिन जानकी मन्दिरमा भएको तोडफोडका घटनाले जानकी मन्दिरको अस्तित्वप्रति चिन्ता व्यक्त गरिएको छ ।
 
बुद्धिजीवी, राजनीतिकर्मी र आस्थावान्ले मन्दिरमा भएको घटनाले यसको प्रवद्र्धनको भविष्य अन्योलमा पर्नाका साथै मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने अभियान पनि प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
 
महोत्सवका दिन बुधबार प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा आक्रोशित भिडले मन्दिरको परिसरको पण्डालमा आगजनी, आस्थाका सामग्रीमा खुट्टाको प्रहार, महोत्सवका लागि निर्माण गरिएको मञ्च नजिक राखिएको कुर्सी तोडफोड गरी मन्दिरको महत्वलाई अभद्र व्यवहार गरिएको जनाइएको छ ।
 
नेपाल र भारतका भक्तजनका लागि गौरव र गरिमाका रुपमा रहेको सो मन्दिर आरम्भदेखि नै आस्था र विश्वासको प्रतीक रहेको छ । सो मन्दिर नौलखा, जानकी भवन, जानकी मन्दिर, शीशमहल आदि नामले प्रख्यात छ ।
 
प्रा महेन्द्रनारायण मिश्र बेलाबखत उच्च पदाधिकारीको जानकी मन्दिरमा पूजाअर्चना, अवलोकन र भ्रमणलाई लिएर विवाद सिर्जना र अप्रिय घटनाले मन्दिरको अस्तित्वमाथि नै सङ्कट उत्पन्न गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “यसले मन्दिरको परम्परा, गरिमा र विकासमा गतिरोध उत्पन्न भई यसको आस्थामा समेत ह्रास आउन सक्ने सम्भावना छ ।”
 
पञ्चयायती व्यवस्थामा राजाको भ्रमण हुँदा श्रद्धालुलाई कष्ट हुने गरेको र लोकतन्त्र आएपछि मन्दिरको गरिमा नै घटाउने क्रियाकलाप हुनु यसको भविष्यसँग खेलबाड हो –प्रा डा पशुपतिनाथ झाको भनाइ छ । 
 
मन्दिरका कावा महन्त रोशन दासले मन्दिरमा उच्च पदाधिकारीको भ्रमण हुँदा परम्परा बमोजिम स्वागत गर्ने गरिएकामा यस पटक पनि सोही परम्परालाई निरन्तरता दिइएकामा आक्रोशित भिडले दुव्र्यवहार गरेको बताउनुभयो । गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ मन्दिरमा तोडफोडका घटनाले नकारात्मक सन्देश गएकामा चिन्ता व्यक्त गर्नुहुन्छ । 
 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शेषनारायण यादव, परमेश्वर साह, सञ्जय सिंह, रुपनारायण मण्डल, इजरायल अहमद, धर्मेन्द्र साह, सरोज मिश्र र लवकुमार झाले विज्ञप्ति जारी गर्दै मन्दिरमा तोडफोड गर्ने तत्वको पहिचान गरी दोषीमाथि कारबाहीको माग गर्र्र्नुभएको छ ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका सन्दर्भलाई लिएर उक्त दिन आक्रोशित भिडले मन्दिरमा तोडफोड गरेको थियो । मोर्चाले सो घटनाको छानबिन गर्न मोर्चाका संयोजक शेषनारायण यादवको संयोजकत्वमा समिति पनि गठन गरेको छ । रासस