मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चार लाख बढी बालबालिका कुपोषणको सिकार

चार लाख बढी बालबालिका कुपोषणको सिकार


काठमाडौँ, ४ पुस । पर्याप्त स्वास्थ्य खान नपाएका कारण नेपालका चार लाख ३० हजार बालबालिका कुपोषणबाट प्रभावित छन् ।

तीमध्ये ९१ हजार बालबालिका शीघ्र कुपोषणबाट ग्रस्त छन् । एसियन इन्टरनेसनल नेपालद्वारा आयोजित शीघ्र कुपोषणसम्बन्धी कार्यक्रममा दिइएको जानकारीअनुसार बालबालिकाले पर्याप्त खाना नपाउँदा रोगको सङ्क्रमण र खाद्य असुरक्षाका कारण बालबालिका शीघ्र कुपोषणको सिकार हुने गर्छन् । बच्चाको तौल अत्यन्त कम भई मृत्यु हुने अवस्थामा पुग्नुलाई शीघ्र कुपोषण भनिन्छ ।

एसियन इन्टरनेसनलका पोषण तथा स्वास्थ्य विभाग प्रमुख सुजय नेपाली भट्टाचार्यले भूकम्पपछि पनि नेपालमा कुपोषणबाट प्रभावित बालबालिकाको सङ्ख्या बढ्न सक्ने जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनका अनुसार विश्वमा प्रत्येक १२ जनामध्ये एक बालबालिकालार्ई शीघ्र कुपोषण हुने गरेकामा एक जनाले मात्र उपचार पाउने गरेका छन् ।

नेपालका मध्यपहाडी तथा तराईका जिल्ला मुख्य गरी कुपोषण र त्यसपछि कडा खालको कुपोषणबाट प्रभावित छन् । बालबालिकामा निमोनिया, झाडापखाला, रुघाखोकीलगायत समस्या कुपोषणका कारणले हुन सक्छ ।

अन्य बच्चाको तुलनामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुनु, कमजोर हुँदै जानु, पुड्कोपनको समस्या र वृद्धि विकासमा कमी आउनु जस्ता समस्या भएमा शीघ्रकुपोषण भएको हुन सक्ने चिकित्सकको भनाइ छ । विभिन्न सर्भेक्षणका अनुसार स्वस्थ्य बच्चाको तुलनामा मध्य शीघ्रकुपोषण बच्चामा तीन गुणा र कडा शीघ्र कुषोषण भएको बच्चामा नौ गुणा बढी मृत्युको सम्भावना रहने भट्टाचार्यले बताउनुभयो ।

हाल विश्वमा पाँच करोड २० लाख बालबालिका शीघ्र कुपोषणबाट ग्रसित भएको अनुमान छ । तीमध्ये ९० प्रतिशत दक्षिण तथा दक्षिणपूर्वी एसियाका बालबालिका रहेको मानिन्छ ।

बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन ।

उचित उपचारमा शीघ्रकुपोषणबाट बच्न सकिन्छ । सरकारले कुपोषणका लागि राष्ट्रिय पोषण नीति तथा रणनीति, दोस्रो तथा दीर्घकालिन पोषण योजना, बहुक्षेत्रीय पोषण योजनालगायत कार्यक्रम ल्याएको छ । सन् २०१७ सम्म सरकारले कुपोषणको दर पाँच प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । रासस