मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीद्वारा खानेपानी आयोजनाको शिलान्यास

प्रधानमन्त्रीद्वारा खानेपानी आयोजनाको शिलान्यास


बारपाक (गोरखा), २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो । 
 
बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै उहाँले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताउनुभयो । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो । 
 
प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई रु दुई लाख अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई रु पन्ध्र लाख उपलब्ध गराउने बताउनुभयो । दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्र गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
प्रधानमन्त्री ओली अहिले भूकम्पपीडितको अवस्था बुझ्न तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारतर्फ प्रस्थान गर्नुभएको छ । त्यहाँ पीडितलाई भेट्ने र तिब्बतसँगको सडकको अवस्थाबारे उहाँले जानकारी लिनुहुनेछ ।
 
छेकम्पारपछि उहाँ उत्तरी गोरखाकै केरौँजा गाविस जाने कार्यक्रम रहेको प्रजिअ उद्धव तिमल्सेनाले जानकारी दिनुभयो । प्रधानमन्त्री आजै सदरमुकाम फर्कनुहुनेछ । प्रधानमन्त्रीसँगै पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी रहनुभएको छ । रासस