नेपाल

पशुअधिकारवादीको विरोधपछि हात्ती दौडको स्वरप परिवर्तन

पशुअधिकारवादीको विरोधपछि हात्ती दौडको स्वरप परिवर्तन


चितवन, २९ मंसिर । चितवन हात्ती महोत्सवअन्तर्गत हरेक वर्ष हुने हात्ती दौड प्रतियोगिताको आयोजकले स्वरुप परिवर्तन गरेको छ ।

पशु अधिकारकर्मीहरुले हात्ती दौड बन्द गर्न दबाब दिएपछि आयोजक क्षेत्रीय होटल संघ सौराहाले हात्ती दौडलाई परिमार्जन गरी यसपटक ‘हात्ती वाक’ प्रतियोगिता गराउने जानकारी दिएको छ । हात्तीको अधिकारका कुराहरु उठ्न थालेपछि गत वर्ष एकतर्फीमात्र हात्ती दौडाइएको थियो । प्रतियोगिताको तयारीको बारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

Advertisement

आयोजकले हात्ती महोत्सवको तयारी तीव्र पारेको छ । भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पर्यटनलाई उकास्न पुष ११ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गरिएको आयोजक क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिए ।

यसवर्ष नाकाबन्दीलगायतका कारणले सौराहामा पर्यटक सुनसान भएका बेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए । हात्ती महोत्सवमा हात्तीका छावाबीचको फुटबल रोमाञ्चक हुने आयोजकले जनाएको छ । महोत्सवमा हात्ती वाकसँगै हात्तीको पिकनिक कार्यक्रमसमेत मुख्य आकर्षण रहने छ ।

महोत्सवअन्तर्गत हुने हात्ती दौड प्रतियोगितालाई परिमार्जन गरी यसपटक इलाफेन्ट वाकको रुपमा आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेले जानकारी दिए । महोत्सवको हात्ती वाकमा विदेशी र स्वदेशी २० वटा समूहको सहभागिता रहने संयोजक घिमिरेले बताए ।

हात्ती महोत्सवमा हात्ती दौडका साथै हात्तीसँग सम्बन्धित विभिन्न रोचक खेलहरु आयोजना गरिने छ । महोत्सवअन्र्तगत हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड, टाँगा दौड, गाडा दौडलगायतका कार्यक्रमसमेत आयोजना गरिने संघका अध्यक्ष विष्टले जानकारी दिए । पाँच दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares