मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ता निष्कर्षहीन

मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ता निष्कर्षहीन


काठमाडौँ, २७ मंसिर । सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षहीन बनेको छ ।
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा दुई फरक विधेयक अघि बढाउनेबारे कुरो नमिल्दा कुनै परिणाम आउन सकेन । सत्तारुढ र प्रतिपक्षी दलले दुवै विधेयक भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधनसम्बन्धी विधेयकलाई सँगै लैजाने सहमति भए पनि मधेसी मोर्चाले त्यसमा आपत्ति जनाएको थियो ।
 
अहिलेको संशोधन विधेयकले आफूहरुको मुद्दालाई सम्बोधन गर्न नसक्ने भन्दै मोर्चाले दुवै विधेयक एकैपटक अघि बढाउन नदिने धारणा राखेको थियो । सिंहदरबारमा कुरा नमिलेपछि संविधानसभाका सभामुख तथा प्रमुख दलका प्रमुख सचेतकसहित शीर्षनेताबीच छलफल गरेर सहमति खोज्ने भन्दै नेता संविधानसभा भवन नयाँ बानेश्वरतर्फ लागेका थिए ।
 
करिब डेढ घन्टासम्म भएको वार्तामा दुई विधेयकमाथि छलफल भएपनि राजनीतिक मुद्दामा भने प्रवेशै नभएको नेताले प्रतिक्रिया दिए । बैठकपछि उपप्रधानमन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकलाई पारित गर्न सबै सहमत भएपनि संविधान संशोधनसम्बन्धी प्रस्तावलाई सँगै लैजाने भन्नेबारे कुरा नमिलेको बताए ।
 
‘तीन दलको सहमतीमा सरकारले अघि सारेको प्राधिकरण विधेयक पनि ल्याउँ र पहिला सरकारको तर्फबाट अघि सारेको संविधान संशोधन विधेयक पनि संसद्मा नै छ, त्यसको कार्यसूची खोज्न जानुपर्ने छैन, तर अहिले आमजनताको सरोकार जाडो पनि बढेकाले पुनःनिर्माण विधेयकलाई पहिला अघि लैजाउँ र त्यसपछि संशोधन विधेयक लैजाउँ भनेर हामीले आग्रह ग¥यौ, त्यस सन्दर्भमा यस्तै गर्ने भन्ने केही निर्णय भएन ।
 
प्रधानमन्त्रीले दुवै दल, प्रतिपक्षी नेपाली काँग्रेस र मोर्चालाई पनि विशेष रुपमा आग्रह गर्नुभएको छ, अब हामी प्रमुख सचेतकसहित सभामुखसँग छलफल गरेर टुङ्गो लगाउछौँ’ उनले भने ।
 
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्तामा सदन सञ्चालनबारे कुराकानी भएपनि कुनै सहमति नभएकाले सभामुखसँग पुनः छलफल गरेर सहमति खोजिने बताए । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राधिकरण विधेयक र संविधान संशोधनसम्बन्धी विधेयक दुवैलाई अगाडि बढाउनुपर्छ भन्ने नेपाली काँग्रेस संविधान संशोधनसम्बन्धी विधेयक पनि एकैचोटी अघि बढाए सदन अवरुद्ध गर्ने मोर्चाले अडान लिएपछि सहमति हुन नसकेको बताए ।
 
अघिल्लो वार्तामा एक दिन पुनःनिर्माण प्राधिकरणको मात्र विधेयक पेस गर्ने र अर्को दिन संविधान संशोधन विधेयक प्रस्तुत गर्ने निर्णय भएबमोजिम आफूहरुले त्यसैमा जाउँ भन्दा सरकार र प्रतिपक्षीको कुरा नमिल्दा सहमति हुन नसकेकाले बाँकी छलफल सभामुखसँग बसेर टुङ्ग्याइने उनले उल्लेख गरे । मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकार र प्रतिपक्षी नेपाली काँग्रेसबीचको संसद् खुलाउने झगडाले आफूहरुको एजेण्डा ओझेलमा परेको बताए ।