मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब संविधान कार्यान्वयनतर्फ लागौँ : राष्ट्रपति

अब संविधान कार्यान्वयनतर्फ लागौँ : राष्ट्रपति


नवलपरासी, २७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रत्यक्ष सहभागितामा नेपालको संविधान बनेकोले नयाँ संविधानलाई स्वीकार्न हिचकिचाउन नहुने बताएकी छिन् ।
 
नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा रहेको जनज्योति नमुना माविको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा उनले नयाँ संविधानले मानवअधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेकोले विश्वकै उत्कृष्ट रहेको बताइन् ।
 
उनले भनिन्, ‘संविधान नेपाली जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिबाट जारी भएकाले यसको कार्यान्वयनमा सबैजना लाग्ने बेला आएको छ ।’ त्यस्तै, उनले सबैलाई सहमतिमा अगाडि बढ्न आग्रहसमेत गरिन् ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिका शान्तिको प्रतीक भएकोले बालबालिका पढ्ने विद्यालय निर्वाध रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले शिक्षामा राज्यले निक्कै फड्को मारे पनि अझै लगानी अनुसारको प्रतिफल पाउन नसकेको बताइन् ।
 
‘अबको शिक्षा भनेको देशमा उत्पादन जनशक्तिलाई देशभित्रै रोजगार दिनसक्ने खालको हुनुपर्छ’, उनले भनिन्, ‘उत्पादनमूलक र सीपमूलक शिक्षा जबसम्म व्यवहारमा लागू गराउन सकिन्न तबसम्म मुलुक अगाडि बढन सक्दैनन्’ ।
 
उनले सीपमूलक शिक्षामा जोड दिई यसको विकासमा राज्य जिम्मेवार हुनुपर्ने विचार राखिन् । काठमाडौं बाहिरको पहिलो कार्यक्रममा सहभागी भएकी राष्ट्रपति भण्डारीले विद्यालयमा स्थापित स्वर्ण स्तम्भको अनावरण गर्नुका साथै स्वर्ण महोत्सव स्मारिकाको विमोचनसमेत गरेकी थिइन् ।
 
निक्कै छोटो मन्तव्यको क्रममा उनले शिक्षा क्षेत्रलाई नै बढी जोड दिएर बोलिन् । 
 
कार्यक्रममा राष्ट्रपति भण्डारीले सिङ्गो देशको नागरिकलाई सत्प्रतिशत साक्षर बनाउन आवश्यक रहेकोले सरकार त्यसमा केन्द्रित हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले सोही अवसरमा विद्यालयमा निर्माणधीन शिक्षाप्रेमी स्व रामबहादुर थापाको मूर्तिको पनि अनावरण गरेकी थिइन् ।