मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस सरकारमा नजानु गलत : पूर्वमन्त्री खाँड

कांग्रेस सरकारमा नजानु गलत : पूर्वमन्त्री खाँड


हिमालय खबर, चितवन, १८ मंसिर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँडले प्रमुख तीन दलबीचको एकता ‘ब्रेक’ हुने गरी कांग्रेस सरकारबाट वाहिर बस्नु गलत भएको बताएका छन् ।
 
कांग्रेस चितवनले जिल्लामा सुरू गरेको संविधानको अन्तरवस्तु सर्वसाधरणलाई बुझाउने अभियानअन्र्तगत शुक्रबार नारायणगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री खाँडले कांग्रेस सरकारमा नगएर तीन दलीय गठबन्धन तोड्न चाहने शक्ति सफल भएको धारणा राखे । 
 
‘प्रमुख तीन दलबीच एकता नहोस् भन्ने शक्तिहरु अहिले हावी भएका छन्’, उनले थपे, ‘सहमति र सहकार्यमा संविधान कार्यान्वयन गर्ने बेला सरकार बाहिर बस्ने निर्णय गर्नु गलत थियो ।’
 
प्रमुख दलबीचको गठबन्धन हुन नदिने शक्ति को हुन् भन्ने बारेमा भने उनले खुलाएनन् । उनले भने, ‘सहमतिको राजनीति खण्डित हुँदा अहिले देश संकटमा गयो । यसले कांग्रेसलाई पनि सँगै संकटमा लाँदैछ ।’
 
प्रमुख दलहरुकै सहमतिमा संविधान जारी भएकाले यसको कार्यान्वयन गर्ने दायित्व पनि यिनै दलहरुको भएको उनले बताए । अझै अहिले ऐन कानुनहरु संशोधन गर्ने बेलामा प्रमुख दलहरुबीचको एकता अझै बढी आवश्यकता रहेको भनाइ उनको थियो । 
 
‘नयाँ संविधान जारी भएपछि यसको कार्यान्वयनका लागि विभिन्न कानुनहरु बनाउनुपर्ने अवस्था छ । यसका लागि कांग्रेस, एमाले र माओवादीबीचको एकता अझै जरुरी छ’, उनले थपे, ‘देशकै ठूलो दल कांग्रेस सत्ताभन्दा बाहिर बस्नु पनि गलत भएको छ । यसलाई सुधार गर्नुपर्छ ।’
 
देशमा शान्ति र स्थायित्वका लागि पनि नयाँ संविधान कार्यान्वयनमा आउनुपर्ने धारणा राख्दै उनले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले यसको कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने धारणा राखे । 
 
संविधान कार्यान्वयनका सिलसिलामा ठूलो पार्टीका नाताले प्रदेश सभाको नेतृत्व भोलि कांग्रेसले पाउनुपर्ने धारणा पनि उनको थियो । प्रदेशको सीमांकनसहित संविधान जारी भएका विषयमा भारतले गरेको असन्तुष्टितर्फ केन्द्रित हुँदै नेता खाँडले छिमेकीहरुका केही कुरा सुनिए पनि हुबहु लागू गर्न नसकिने स्पष्ट पारे । 
 
‘प्रदेशको सीमांकनसहितको संविधान हुनुपर्छ भनेर भारतले पनि नेपाललाई सुझाव दिएकै हो । त्यही सुझावका आधारमा जारी भएको सविधानलाई भारतले अस्वीकार गर्नु गलत हो ।’ विशेषतः हिन्दूराष्ट्र बनाउने कुरा अहिलेलाई सम्भव नभएको स्पष्ट पार्दै उनले पहिला भारतलाई नै हिन्दूराष्ट्र बनाएर देखाउन चुनौती दिए ।